अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शनमा उत्रिएको एक समूहले सुर्खेतको वीरेन्द्रनगरमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड गरेको छ ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा प्रदर्शनकारीले कांग्रेस, एमाले र माओवादी केन्द्रको पार्टी कार्यालय र बजार क्षेत्रका घरका सीसा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रदर्शनकारीले एमालेको पार्टी कार्यालयबाहिर आगजनी पनि गरेका छन् ।
एमसीसी सम्झौता अनुमोदनको विरोधमा उत्रिएकाहरुले प्रहरीमाथि समेत ढुंगामुढा गरेका छन् । प्रहरी र बन्दकर्ताबीच झडप भएपछि नियन्त्रणमा लिन प्रहरीले तीन दर्जन बढी सेल अश्रुग्याँस समेत हानेको छ ।प्रहरीले बन्दकर्ताहरूलाई ढुंगामुढा नगर्न आग्रह गर्दै माइकिङ गरिरहेको छ । तर, बन्दकर्ताहरू भने विभिन्न गल्लीबाट निस्किएर प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन् ।शान्तिपूर्ण ढंगले बन्दको कार्यक्रम गर्न आग्रह गर्दा पनि बन्दकर्ताहरू उग्र बनेर सुरक्षाकर्मीमाथि ढुंगामुढा गरिरहेका छन्’ प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले भने, ‘थप सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली पठाएका छौं । अब बल प्रयोग गरेर स्थिति सामान्य बनाउँछौं ।’प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार स्थिति नियन्त्रणमा लिन डीएसपी रामप्रसाद घर्ती सहितको टोली आन्दोलन भइरहेको स्थलमा छ । प्रहरीले १३ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको छ ।












