बर्दघाट ब्यापार मेलामा दर्शकको उपस्थिति बढ्दै,आज रमेशराज र श्रीनिवास थारुलगायतको प्रस्तुति

प्रकाशित मिति:

बुटवल । पश्चिम नवलपरासीको बर्दघाटमा जारी पांचौ बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला उत्तरार्धतिर आउन लाग्दा दर्शकको उपस्थिति बढ्दै गएको छ । मेलाको सातौं दिनसम्म एक लाख बढी दर्शकले मेला अवलोकन गरेका र हरेक दिन उपस्थिति बढ्दै गएको आयोजकले जनाएका छन् ।

मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिमा रमाउन र आवश्यक सामान किनमेल गर्न बर्दघाट नगरपालिकाका र आसपासका गाउंगाउंबाट दर्शकहरु आउने गरेका छन् । मेलाको आठौं दिन आज चर्चित आधुनिक गायक रमेशराज भट्टराई,थारु गयक श्रीनिवास चौधरी,शान्तिरानी परियार,राशी शर्मा तथा डान्सरहरु रुबिना अधिकारी र निक शर्माको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक खुमन बस्यालले बताए ।

यस्तै बर्दघाट डान्स आइडल पनि अर्को आकर्षण रहने छ । ‘कला, संस्कृति, उद्योग र व्यापार समृद्ध बर्दघाटको बलियो आधार’ नारासहित बर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा बर्दघाट नगरपालिका–४ बर्दघाट मण्डपमा जारी मेलामा थरिथरिका सेल्फीजोनमा फोटो खिचेर टिकटक बनाउने प्रतियोगिता पनि हुनेछ । स्वदेशी र विदेशी गरी २ सय बढी स्टल रहेको मेलामा जिल्लाका पर्यटकीय स्थलहरु प्रचार तथा मगर, थारु, नेवारलगायत जातिका परम्परागत घर र खानाका परिकारहरू,विभिन्न थरिका बाल उद्यान, पिङ आदि पनि आकर्षणको रुपमा रहेका छन् । फागुन २५ गतेसम्म चल्ने व्यापार मेलामा दुई लाख दर्शकले अवलोकन गर्ने र तीन करोड रुपैयाँको कारोबार हुने आयोजकको लक्ष्य रहेको बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताए ।