बर्दघाट ब्यापार मेलामा दर्शकको उपस्थिति बढ्दै,आज रचना रिमाल लगायतका कलाकारले दर्शक तताउदै

प्रकाशित मिति:

बुटवल । पश्चिम नवलपरासीको बर्दघाटमा जारी पांचौ बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला उत्तरार्धतिर आउन लाग्दा दर्शकको उपस्थिति बढ्दै गएको छ ।

मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुतिमा रमाउन र आवश्यक सामान किनमेल गर्न बर्दघाट नगरपालिकाका र आसपासका गाउंगाउंबाट दर्शकहरु आउने गरेका छन् । मेलाको आज १० औ दिनमा चर्चित गायिका रचना रिमाल, लोक दोहोरी गायिका सुनितामी परियार ,गायक जीवन परियार र हास्य कलाकार पुरुषोत्तम भण्डारी “पुर्खे बा “लगायत कलाकारको बेजोड प्रस्तुति रहनेछ। हिजो लोक दोहोरि गायक बद्रि पंगेनी ,आधुनिक पप गायक सुगम पोखरेल लगायतका कलाकारले दर्शकलाई मनोरंजन प्रदान गरेका थिए।

यस्तै बर्दघाट डान्स आइडल पनि अर्को आकर्षण रहने छ । ‘कला, संस्कृति, उद्योग र व्यापार समृद्ध बर्दघाटको बलियो आधार’ नारासहित बर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा बर्दघाट नगरपालिका–४ बर्दघाट मण्डपमा जारी मेलामा थरिथरिका सेल्फीजोनमा फोटो खिचेर टिकटक बनाउने प्रतियोगिता पनि हुनेछ । स्वदेशी र विदेशी गरी २ सय बढी स्टल रहेको मेलामा जिल्लाका पर्यटकीय स्थलहरु प्रचार तथा मगर, थारु, नेवारलगायत जातिका परम्परागत घर र खानाका परिकारहरू,विभिन्न थरिका बाल उद्यान, पिङ आदि पनि आकर्षणको रुपमा रहेका छन् । फागुन २५ गतेसम्म चल्ने व्यापार मेलामा दुई लाख दर्शकले अवलोकन गर्ने र तीन करोड रुपैयाँको कारोबार हुने आयोजकको लक्ष्य रहेको बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताए ।