बर्दघाट मेला आज समापन हुंदै, राजु परियारसहित डीजे नाइट

प्रकाशित मिति:

सबलपोष्ट/बुटवल- पश्चिम नवलपरासीको बर्दघाटमा जारी पांचौ बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला आज समापन हुंदैछ । मेलाको अन्तिम दिन आज दिउसोको सांस्कृतिक कार्यक्रमा चर्चित लोक दोहोरी गायक राजु परियार, रामचन्द्र चन्द तथा गायिकाहरु अस्मिता डल्लाकोटी र शर्मिला अर्यालको प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन् ।

आज बर्दघाट डान्स आइडलको फाइनल पनि हुनेछ , जसमा ६ जना प्रतियोगीले उपाधिका लागि आफ्नो कला प्रस्तुत गर्नेछन् । मेलाको औपचारिक समापनपछि सांझदेखि रातिसम्म डीजे नाइट हुने सांस्कृतिक कार्यक्रम संयोजक खुमन बस्यालले बताए । ‘कला, संस्कृति, उद्योग र व्यापार समृद्ध बर्दघाटको बलियो आधार’ नारासहित बर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा बर्दघाट नगरपालिका–४ बर्दघाट मण्डपमा जारी मेलाको अन्तिम दिन आज आवश्यक सामान किनमेल र मनोरन्जन लिन छुटेका दर्शकहरुको भीड हुने आयोजकले अपेक्षा गरेका छन् ।

स्वदेशी र विदेशी गरी २ सय बढी स्टल रहेको मेलामा जिल्लाका पर्यटकीय स्थलहरु प्रचार तथा मगर, थारु, नेवारलगायत जातिका परम्परागत घर र खानाका परिकारहरू,विभिन्न थरिका बाल उद्यान, पिङ आदि पनि आकर्षणको रुपमा रहेका बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताए ।