काठमाडौं । अन्ततः सेयर बजारमा सकारात्मक माहोल पैदा भएको छ । बिहीबार नेप्से सूचक ५२: ३१ अंकले बढेको छ । सूचक २५६६. ९० विन्दुमा आइपुगेको छ । २ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचकसहित खरिदबिक्री रकममा पनि सुधार भएको छ । इमर्जिङ पावरको भाउमा सकारात्मक सर्किट लागेको छ । यसर्थ, नेप्सेले दोहोरो अंकले बढेर सकारात्मक सन्देश दिएको छ । त्यसो त बुधबार नै बजारले टर्नओभर ड्राई भएर बढ्ने संकेत गरिसकेको थियो ।
सेयर भाउहरु निकै सस्तो भइसकेको अनि कारोबार रकम पनि निकै घटिसकेको थियो । विश्लेषकहरुले नेप्सेले बटम लगाउन थालेको बताएका थिए । यद्दपि, बजार तलमाथि भइरहन्छ । अहिलेको वृद्धि कत्तिको दिगो हुन्छ अनि कतिसम्म बढ्छ भन्ने पक्षलाई लगानीकर्ताले सुक्ष्म अध्ययन गर्न आवश्यक हुन्छ । सूचक र कारोबार रकम पनि कुन अनुपातमा वृद्धि हुँदै जान्छ भन्ने पक्ष ख्याल गर्नुपर्ने हुन्छ । लगानीसम्बन्धी निर्णय लिंदा आफ्नै हिसाबले रणनीति तय गर्नुपर्ने हुन्छ । सधैंभरि बजारको गति र प्रवृत्ति एउटै हुँदैन । सोही आधारमा रिस्क–रिवार्ड रेसियोलाई ख्याल गरेर लगानी सम्बन्धी निर्णय लिनुपर्ने हुन्छ । पछिल्ला दिनहरुमा वित्तीय प्रणालीमा तरलता सहज हुने संकेतहरु देखिएका छन् । यो कत्तिको दिगो हुन्छ त्यसलाई हेर्नुपर्ने हुन्छ ।
सरकार, अर्थमन्त्री तथा नियामक निकायहरु पनि समग्र अर्थतन्त्र र सेयर बजारप्रति अलिबढी चिन्तित हुन थालेको देखिन्छ । बजार सुधारका लागि आवश्यक कदमहरु चाल्न आफूहरु तयार रहेको अर्थमन्त्री र धितोपत्र बोर्डका अध्यक्षले बताइसकेका छन् । यी परिदृश्यहरुका आधारमा विस्तारै बजारले गति लिन सक्ने अनुमान भने गर्न सकिन्छ । चुनावी माहोल सुरु हुन लागेको र चैत लाग्ने तरखर भइरहँदा विस्तारै वित्तीय प्रणालीमा तरलता सहज हुने अपेक्षा कतिपयको रहेको छ । सरकारले पर्याप्तमात्रामा राजस्व संकलन गरिरहेका छ । तर खर्च त्यस अनुरुप हुन सकेको छैन । सरकारले खर्च गर्न सकेमा वित्तीय प्रणालीमा तरलता सहज बनाउन सहयोग पुग्नेछ ।
आम लगानीकर्ताले लगानी गरिने क्षेत्र तथा समूहहरुको तुलनात्मक अध्ययन, इन्डस्ट्री ग्रोथ रेट लगायतका सूचकहरुमा पनि लगानीकर्ताले अध्ययन गर्नुपर्ने हुन्छ । ब्लुचीप कम्पनी छान्ने कि ग्रोथ ओरियन्टेड कम्पनी छनोट गर्ने भन्नेमा पनि योजना बनाउन विश्लेषकहरुले सुझाव दिने गरेका छन् । कम्पनीहरुको वित्तीय विवरण, नाफा, रिजर्भ, खुद ब्याज आम्दानी, वितरणयोग्य नाफा, इपीएस, पीइ रेसियो, नेटवर्थ लगायतका महत्वपूर्ण सूचकहरु पनि ख्याल गर्न सके लगानीसम्बन्धी निर्णय लिन सजिलो हुनेछ । यस दिन २२६ कम्पनीको ५६ लाख १० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।












