कालिका मानवज्ञान माविमा आयोजित भलिवलको फाईनलमा न्यू होराईजन र न्यू लाईट भिड्ने
कालिका मानवज्ञान माविद्वारा आयोजीत आठौ जिल्लास्तरीय अन्तर मावि भलिवल प्रतियोगिताको उपाधिको लागी न्यू होराईजन र न्यू लाईट भिड्ने भएका छन् । विद्यालयको ५८ औ वार्षिकोत्सवको अवसरमा विद्यालयमा आयोजित भलिवल प्रतियोगिताको सेमि फाईनल खेलमा ले न्यु लाईट बोर्डिंग स्कूलले मणिमुकुन्द माविलाई र न्यू होराइजन माविले एभरेष्ट बोर्डिंग स्कूललाई हराएर प्रतियोगिताको उपाधिको लागी भिडन्त पक्का गरेका हुन । न्यु लाईट बोर्डिंग स्कूलले क्वाटर फाइनलमा नहरपुर माविलाई र न्यू होराइजन माविले क्वाटर फाईनलमा एभरेष्ट बोर्डिंग स्कूललाई हराएका थिए । तेस्रो स्थानको लागि बिहिबार नै भएको खेलमा मणि मुकुन्द माविले सिद्धार्थ बोर्डिंग स्कूललाई २–० को सोझो सेटमा हराएको थियो ।
साविकको कालिका माविको स्वर्ण महोत्सवदेखि शुरु गरिएको नगर स्तरीय भलिवल प्रतियोगिता यस वर्ष देखि जिल्ला स्तरीय अन्तर मावि (९–१२) छात्र भलिवल प्रतियोगिताको रुपमा संचालन भएको थियो । प्रतियोगितामा जिल्लाका विभिन्न २१ वटा विद्यालयका खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको फाईनल खेल पुस ६ गते शुक्रवार हुने र पहिलो, दोश्रो र तेस्रो हुने विद्यालय र खेलाडिलाई पुस ६ गते शुक्रवार कालिका मानवज्ञान माविमा हुने सम्मान समारोहमा नगर पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गरिने विद्यालयले जनाएको छ । विद्यालयको खेल सप्ताह अन्तर्गत शुक्रबार नै ५ हजार मिटर पुरुष खुला दौड प्रतियोगिता हुने भएको छ । विहान ७ शंकरनगर वनबाटिकादेखि शुरु हुने दौडका विजेतालाई नगद ५ हजार रुपैया प्रदान गरिने खेल संयोजक राजु शर्माले बताए ।
विद्यालयका आन्तरिक खेलकुद र साहित्यिक प्रतियोगिताहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई बिहिबार बिद्यालयमा आयोजना गरिएको कार्यक्रममा पुरस्कृत गरिएको छ । विद्यालयले शुक्रबार आयोजना गरेको सम्मान समारोहमा विद्यालयमा स्थापित ३६ वटा अक्षयकोषबाट ७६ जना विद्यार्थीहरुलाई छात्रवृति वितरण गर्ने, अक्षयकोष दाता र बोर्ड परीक्षाहरूमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरिने विद्यालयका प्रधानाध्यापक घनश्याम पाठकले जनाएका छन् ।.










