अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राखिने

प्रकाशित मिति:

तनहुँ– बलात्कार गरेको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।जिल्ला अदालत तनहुँले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।फागुन १५ गते पक्राउ परेका शाहलाई यसअघि नै दुई पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक थप भएको म्याद आज सकिएको थियो । मुद्दाको अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले म्याद थपका लागि सरकारी वकिलको कार्यालयमार्फत अदालतसमक्ष पेश गरेको थियो ।

तनहुँ जिल्ला अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिन थप समय दिएको थियो । तर, अनुसन्धान नसकिँदै नवलपुरमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते पल शाहलाई नवलपुर लगिएको थियो । जसले गर्दा तनहुँ प्रहरीले अनुसन्धानको बाँकी काम गर्न सकेको थिएन । नवलपुर लगिएका कारण थपिएको समयमा अनुसन्धान नसकिएको भन्दै प्रहरीले म्याद थपको लागि अदालतसँग अनुरोध गरेको थियो ।पलसँगै उनका म्यानेजर कृष्णप्रसाद जोेशीलाई पनि थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।

यता, नवलपुर जिल्ला अदालतमा भने शाहविरुद्ध अभियोगपत्र दर्ता भइसकेको छ । तनहुँ प्रहरीको हिरासतमै रहेका बेला नवलपुर लगिएको थियो । नवलपुर प्रहरीले उनीविरुद्ध अनुसन्धान गर्दै हिजो सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको हो ।अभियोग पत्रमा शाहलाई १२ देखि १४ वर्ष जेल सयाजको माग दाबी गरिएको छ । अब तनहुँमा अनुसन्धान सकिएपछि थुनछेक बहसका लागि शाहलाई नवलपुर लगिनेछ ।— खबरहब