प्रेस चौतारी रुपन्देहीले कम्तीमा १० लाख रुपियाँको कल्याणकारी कोष स्थापना गर्ने

प्रकाशित मिति:

बुटवल, १० चैत । प्रेस चौतारी नेपाल रुपन्देहीले श्रमजीवि प्रत्रकारहरुलाई पेशागत दौरानमा आईपर्ने आर्थिक समस्यालाई मध्यनजर गर्दै श्रमजीवि पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको छ । प्रेस चौतारी रुपन्देहीको विहीबार बसेको प्रथम वैठकले कम्तीमा दशलाख रुपियाँको कोष स्थापना गर्ने निर्णय गरेको हो ।कोष संचालनका लागि आवश्यक कार्यविधि निर्माण गर्न संगठनका पुर्व जिल्ला अध्यक्ष शेरबहादुर केसीको संयोजकत्वमा तीन सदस्यीय समिति निर्माण गरेको छ । समितिको सदस्यमा पुर्व जिल्ला अध्यक्षद्वय भरत केसी र दिनेश पाण्डे रहेका छन् ।कल्याणकारी कोषका लागि संगठनका जिल्ला अध्यक्ष सहित कार्यसमितिका सवैले अनिबार्य रकम जम्मा गर्ने निर्णय बैठकले गरेको सचिव केशव भण्डारीले जानकारी दिए ।

त्यस्तै कल्याणकारी कोषका लागि प्रेस चौतारीका पुर्व सदस्य एवं हाल अमेरीकामा रहेका पत्रकार सुरज भण्डारीले ५० हजार रुपियाँ प्रदान गर्ने घोषणा गरेका छन् । यसैगरी नेकपा एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख हितराज पन्थीले पनि कोषका लागि आवश्यक रकम सहयोग गर्ने घोषणा गरेका छन् ।बैठकले ११ सदस्यीय सचिवालय निर्माण गरेको छ । सचिवालयमा कार्यसमितिका पदाधिकारीसहित चारजना सदस्य थप गरिएको हो । जसमा विकास पराजुली, डिबि सुस्लिङ्ग, अस्मिना पाण्डे र टिका खरेल रहेका छन् ।

त्यस्तै बैठकले कार्यसमिति सदस्यमा दिनेश घिमिरे र सुजिता श्रेष्ठलाई मनोनयन गर्ने निर्णय गरेको छ । बैठकले संगठनको आगामी कार्ययोजना निर्माणका लागि आवश्यक गृहकार्य गर्न पदाधिकारीलाई जिम्मा दिएको छ ।त्यस्तै बैठकले पार्टी निकट पेशागत एवं व्यावसायिक संगठन तथा जिल्ला पार्टी नेतृत्वसँग अन्तक्र्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । बैठकले नेपाल पत्रकार महासंघले आफ्नो स्थापना दिवसका अवसरमा आयोजना गर्न लागेको फूटसल प्रतियोगितामा संस्थागत सहभागिता जनाउने निर्णय गरेको छ ।
बैठकलाई संबोधन गर्दै एमाले जिल्ला प्रचार विभाग प्रमुख हितराज पन्थीले संगठनलाई चुस्त, दुरुस्त र व्यवस्थित बनाउँदै लैजान र यसका गतिविधिलाई प्रभावकारी ढंगले अगाडि बढाउन सुझाव दिए । उनले अहिले सत्ता पक्ष प्रतिपक्षीविरुद्ध गठबन्धन गर्ने अवस्थामा आएको र यो एमालेप्रति बढ्दो आकर्षणको प्रभाव रहेको भन्दै अव स्थानीय तहको निर्वाचनमा आवश्यक योजना बनाएर लाग्न आग्रह गरे ।

प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदिप आचार्यले संगठनमाथि अव महत्वपूर्ण कार्यभार आएको भन्दै बिगतका निर्णयहरुको समेत कार्यान्वयन गर्दै आगामी कार्यकालका लागि योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।संगठनका अध्यक्ष लक्ष्मण पौडेलले संगठनलाई अव सुव्यवस्थित ढंगले अगाडि बढाउने र यसका लागि अव छिटै नै कार्ययोजना निर्माण गरी अगाडि बढिने बताए । बैठकमा संगठनका उपाध्यक्ष बीपी गौतम, सहसचिव दिपक न्यौपाने, रविन्द्र गुप्ता, कोषाध्यक्ष दिनेश श्रेष्ठ, सदस्यहरु अस्मिना पाण्डे, विष्णु घिमिरे, डिबी सुस्लिंग, टिका खरेललगायतले आ आफ्नो धारणा एवं सुझाव दिएका थिए ।