नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग गर्दै बुटवलमा बृहत प्रदर्शन- दुई दिवसिय बृहत धर्मसभा उद्घाटन
हरिश ढकाल-बुटवल, ११ चैत्र । नेपाललाई सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै बुटवलमा बृहत धार्मिक र्याली प्रदर्शन गरिएको छ । बिश्व हिन्दु महासंघ लुम्बिनी प्रदेश समिति र जिल्ला शाखा रुपन्देहीद्रारा संयुक्त रुपमा आयोजित सो धार्मिक र्याली प्रदर्शनमा सहभागिहरुले नेपाललाई यथासिघ्र हिन्दु राष्ट्र कायम गर्न माग गरेका थिए ।
प्रदर्शनमा लुम्बिनी प्रदेशका १२ जिल्लाका सयौं मठ, मन्दिर, बिहार, चैत्य, गुरुद्वारा, धुनी, गुठीसहितका धार्मिक संघसंस्थाहरुका हजारौं प्रतिनिधीहरुको सहभागिता रहेको कार्यक्रम मुल आयोजक समितिका संयोजक बेनबहादुर पौडेल क्षेत्रीले बताउनु भयो । कार्यक्रममा सहभागिहरुले नेपाललाई हिन्दु राष्ट्र बनाउन शान्तिपुर्ण आन्दोलन गर्ने तयारी भैरहेको जानकारी गराएका थिए ।
र्याली पश्चात आयोजित धर्मसभालाई सम्बोधन गर्दै जगतगुरु अनन्तश्री बिभुषित जगतगुरु शंकराचार्य स्वामी महाराजले नेपाल परापुर्व कालदेखि नै हिन्दु राष्ट्र रहेको बताउनु भयो । हिन्दु धर्मका चार शंकराचार्य मध्येका एक सुमेरु पिठका पिठाधिस समेत रहनु भएका शंकराचार्य महाराजले हिन्दु धर्म रक्षाका लागि सबै एकजुट हुन आग्रह गर्दै नेपाललाई पुनः हिन्दु राष्ट्र घोषणा गर्न राजनैतिक दलहरुलाई दवाव सिर्जना गर्नुपर्ने आवश्यक्ता औल्याउनु भयो ।
लुम्बिनी प्रदेश स्तरिय मठ, मन्दिर, बिहार, चैत्य, गुरुद्वारा, धुनी, गुठीसहितका धार्मिक संघसंस्थाहरुको सहभागिता रहेको सो दुई दिवसय बृहत धर्मसभामा बोल्दै बिश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका अध्यक्ष रामचन्द्र अधिकारीले सनातन हिन्दु धर्म, संस्कृति र संस्कारको रक्षा आजको मुल आवश्यक्ता हो भन्दै सबै हिन्दुहरुलाई एकताबद्ध भै अघि बढ्न आग्रह गर्नु भयो ।कार्यक्रममा सनातन हिन्दु धर्मका संरक्षक ब्यासाचार्य धर्मगुरु किशोर कुमार गौतमले नेपालमा ८१ प्रतिशत हिन्दुहरु रहेकाले स्वतः हिन्दु राज्य घोषणा हुनुपर्ने तर नेपालका राजनैतिक दलहरुले लहडको भरमा धर्मनिरपेक्ष बनाएको चर्चा गर्दै हिन्दु धर्म बिरोधी देशी बिदेशी तत्वहरुको सक्रियताका कारण हिन्दु धर्म संकटमा परेको टिप्पणी गर्नु भयो । कार्यक्रममा धर्मगुरु डा. चिन्तामणी नाथ योगी, शंकर खरेल, महेश्वर प्रसाद श्रेष्ठ लगाएतले सनातन हिन्दु धर्म, पुर्विय संस्कार र संस्कृतीको रक्षाका लागि शान्तिपुर्ण रुपले आवाज बुलन्द गर्ने र नेपालमा हिन्दु राज्य कायम गर्नका लागि सन्देश प्रवाह गर्नका लागि धर्मसभाको आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा सहभागि बिभिन्न जिल्लाका प्रतिनिधीहरुले केही राजनैतिक ब्यक्ति र दलहरुको लहडका भरमा मुलुकमा बिस्थापित गरिएको हिन्दु राज्य पुनःस्थापनाका लागि आवाज उठाउने र हिन्दु धर्म संस्कृती र नैतिक शिक्षाको संरक्षण तथा पुनर्जागरणका लागि धर्मसभाको आयोजना गरिएको बताउनु भयो । नेपालमा कुल जनसंख्याको दुई तिहाई भन्दा बढि सनातन हिन्दु धर्मावलम्बीहरुको संख्या रहेकोले स्वतः हिन्दु राष्ट्र कायम हुनुपर्ने माग बिश्व हिन्दु महासंघले राख्दै आएको छ ।












