पुनहरि बेल्बासे-भैरहवा । आगामी चैत २५ गते देखि नेपालभर टाइफाइड विरुद्धको खोप अभियानकै रुपमा लगाइने भएको छ । डब्लू एचओले सन् २०१७ मै टाइफाइड विरुद्धको खोप लगाउने भने पनि नेपालले सन् २०२२ मा आएर सार्थकता पाएको छ । टाइफाइड विरुद्धको खोप १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकालाई लगाइने छ ।
खोप लगाउने क्रममा १५ महिना देखि २३ महिना सम्मको लागि अन्य खोप लगाएको वा नलगाएको पहिचान खुल्ने गरि खोप कार्ड बन्ने छ भने दुई वर्ष वा सो भन्दा माथिका व्यक्तिको लागि एकै प्रकारको खोप कार्ड बनाएर खोप सञ्चालन गरिने स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले बताए । खोपलाई प्रभावकारी बनाउन स्वयमसेवीका, शिक्षक र सम्बन्धित व्यक्तिलाई तालिम दिइ सकेकोले अभियान प्रभावकारी हुने स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले बताए ।
नेपाल सरकारले टाइफाइड विरुद्धको खोप ७५ लाख जनालाई लगाउने लक्ष्य लिएको छ भने रुपन्देही जिल्लाले २ लाख ६६ हजार ५ सय १८ जनालाई खोप लगाउने लक्ष्य लिएको छ ।रुपन्देहीमा लक्षित वर्गको वार्षिक परीक्षका कारण समस्या आउने देखिएपछि रुपन्देहीमा २२ गते देखि नै खोप अभियान सुचारु गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ । रुपन्देहीमा विद्यालय जति खोप केन्द्र हुनेछन् । विद्यालयलाई नै खोप केन्द्र मानेर अभियान सञ्चालन गर्ने भएपछि ९ सय ६६ केन्द्रबाट खोप दिइने खोप अधिकृत शर्माले बताए ।स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार १ लाख जनसङ्ख्यामा परीक्षण गर्दा १ हजार सङ्क्रमित फेला परेमा अभियानकै रुपमा लिनु पर्ने हुन्छ । टाइफाइड विरुद्धको खोप एलर्जी, उच्च ज्वोरो, सिकिस्त बिरामी, गर्भवती महिला, स्थतपान गराउने महिला, एचआईभी एड्स भएका व्यक्तिलाई जोखिम हुने भएकाले खोप लगाने छैन ।












