काठमाडौं, चैत २६ । नेपाली कांग्रेसका नेता डा : शशांक कोइरालाले मुलुकको निर्वाचन खर्च अत्यन्तै महँगो हुँदै गएको बताएका छन्।नेविसंघ इलाम–काठमाडौं सम्पर्क समितिले आज शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै डा। कोइरालाले खर्चकै कारण चुनाव लड्न नसकिने अवस्था सिर्जना भएको बताए।
डा। कोइराला नवलपरासी–१ बाट तीनपटक निर्वाचित भइसकेका छन्। पहिलोपटक निर्वाचन लड्दा त्यहाँ ८० हजार, दोस्रोपटक चुनाव लड्दा तीन करोड र तेस्रोपटक प्रतिनिधिसभामा निर्वाचित हुँदा ६ करोड खर्च भएको जानकारी दिए।उनले भने, ‘पहिलो, दोस्रो र तेस्रो गरी १० करोड खर्च लाग्यो, अब कति लाग्ला’ आफ्नो क्षेत्र नवलपरासीमा कांग्रेसका अरू कसैले निर्वाचन लड्न चाहे छाड्न तयार रहेको उनले बताए। निर्वाचन खर्च घट्नुपर्नेमा उनले जोड दिए। युवाहरुले समय छँदै यस्तो कुरामा विचार गर्नुपर्ने धारणा उनले व्यक्त गरे।
उनले आउँदो निर्वाचनमा भरसक कांग्रेसले एक्लै प्रतिस्पर्धा गर्नुपर्ने पनि बताए। कांग्रेसले देश र जनताका लागि गरेको योगदानको वास्तविक परीक्षण गर्न पनि एक्लै प्रतिस्पर्धामा जानुपर्ने अवस्था रहेको उनको भनाइ थियो। सत्ता गठबन्धनबीच निर्वाचनमा तालमेल नभए एमाले र माओवादी केन्द्रबीच सहकार्य हुन सक्ने खतरा रहेको भनी पार्टी सभापतिमा देखिएको चिन्ता स्वाभाविक रहेको उनले बताए।












