पत्रकार पाण्डेलाई तत्काल रिहा गर्न अधिकारवादी संस्थाहरूको माग

प्रकाशित मिति:

काठमाडौँ, २६ चैत – संयुक्त अरब इमिरेट्स युएइमा थुनामा परेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न अधिकारवादी विभिन्न संघ सस्थाहरूले माग गरेका छन् । उनीहरूले आज पत्रकार पाण्डेलाई थुनामा राखिएकोमा विरोध काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्दै तत्काल रिहा गर्न माग गरेका हुन् । युथ कंग्रेस नेपालले आयोजना गरेको प्रदर्शनमा नेपाल पत्रकार महासंघ, एम्नेस्टी इन्टरनेशनले नेपाल, युनिमी नेपाललगायतले ऐक्यबद्धता जनाएका थिए ।

विरोध सभामा महासङ्घका अध्यक्ष विपुल पोखरेलले सामाजिक सञ्जालमा लेखेकै आधारमा कुनै नेपाली नागरिक विरुद्ध नेपाली दूतावासका अधिकारीले नै थुनाउनु अत्यन्त आपत्तिजनक भएको बताउनु भयो ।दूतावासका कर्मचारीहरूले पत्रकार पाण्डेलाई युएईको प्रहरीले हिरासतमा लिनुमा आफूहरूको कुनै भूमिका नरहेको भनेर नेपाल सरकार, पत्रकार महासङ्घलगायतलाई ढाँटेकाले उनीहरूलाई तत्काल कारबाही गर्न पनि उहाँले माग गर्नुभयो । उनीहरूले यस घटनामा हाम्रो कुनै संलग्नता छैन भनेर पटक पटक झुटो जवाफ परराष्ट्र मन्त्रालय र नेपाल पत्रकार महासङ्घलाई दिएका छन्, तर उनीहरु प्रत्यक्ष संलग्न छन भन्ने प्रमाण हामीलाई प्राप्त भइसकेको छ, त्यसैले झुटो विवरण पेश गर्ने सरकारी अधिकारीलाई एक क्षण पनि पदमा राख्नु हुदैन,” अध्यक्ष पोखरेलले भन्नुभयो ।

नेपालका लागि पर्यटन भिसामा भैरहेको विकृतिबारे युएईको दूतावासलाई लक्षित गरि गत पुस २४ गते सामाजिक सञ्जाल फेसबुकमा लेखेकै आधारमा युएइ स्थित नेपाली दूतावासको उजुरीका आधारमा स्थानीय प्रहरीले पाण्डेलाई पक्राउ गरी हिरासतमा राखेको छ ।
हिरासतमा राखेको तेस्रो दिनदेखि नै पत्रकार पाण्डेलाई छुटाउन निरन्तर प्रयास गर्दै आइरहेको श्रमजीवी पत्रकारहरूको अन्तर्राष्ट्रिय संस्था युनिमी नेपालका महासचिव जीवन भण्डारीले पनि पाण्डेलाई छुटाउन दूतावासले नै सहयोग नगरेको आरोप लगाउनु भयो । दूतावासका जनसम्पर्क अधिकृतको नामबाट दर्ता भएको उजुरी फिर्ता गराउन मात्रै दूतावासले पहल गरिदिएको भए पत्रकार पाण्डे त्यतिबेला नै छुट्ने उहाँको भनाई छ ।

एम्नेस्टी इन्टरनेशनलकी महासचिव संचिता कुईँकेलले युएईस्थित नेपाली दूतावासले शक्तिको दुरुपयोग गरेर मानवअधिकारको उलङ्घन गरेको बताउनु भयो । पत्रकार पाण्डेलाई विदेशी भूमिमा थुनाउन दूतावासको भूमिका संसारभरका आप्रवासी नेपालीहरूका लागि चिन्ताको विषय भएको उहाँले उल्लेख गर्नुभयो । दूतावासको उजुरीकै आधारमा युएईको अदालतले पत्रकार पाण्डेलाई नेपाली झण्डै साढे छ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने, युएईमा रहेको पाण्डेको सम्पत्ति सबै जफत गर्ने, देश निकाला गर्नेलगायतका सजाय तोकेको छ । पाण्डेको तर्फबाट अहिले फैसला सच्याउन पुनराबलोकनको प्रक्रिया भइरहेको पाण्डेका भिनाजु पिताम्बर भूसालले जानकारी दिनुभयो ।