चित्तबुझ्दो स्पष्टिकरण नदिएको भन्दै ऋषि धमलालाई काउन्सिलले बयानका लागि बोलायो
काठमाडौं, चैत २७ : प्रेस काउन्सिल नेपालले सञ्चारकर्मी ऋषि धमलालाई बयानका लागि बोलाएको छ। यसअघि स्पष्टिकरण सोधेको काउन्सिलले चित्तबुझ्दो जवाफ नआएको भन्दै धमलालाई भौतिक रुपमा उपस्थित हुँदै बयान दिन बोलाएको हो। चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा भारतबाट फर्कने क्रममा धमलाले जहाजभित्रैबाट लाइभ गरेका थिए। जहाको संवेदनशील ठाउँबाट लाइभ अन्तरवार्ता गरेको भन्दै काउन्सिलले धमलालाई स्पष्टिकरण सोधेको थियो।
जवाफमा धमलाले जनतालाई चाँडै सूचना दिन लाग्दा आफूबाट गल्ती भएको स्वीकारेका छन्। उनले आत्माआलोचना गर्न तयार रहेको बताएपनि काउन्सिलले उनको जवाफ चित्तबुझ्दो नरहेको बताउँदै वयानका लागि स्वयम् उपस्थित हुने निर्देशन दिएको हो। वयानका लागि धमलालाई सोमबार बोलाइएको छ।












