कोदोको रक्सीलाई ब्राण्ड बनाउनु पर्छ : डा. भण्डारी

प्रकाशित मिति:

पुनहरि बेल्बासे,भैरहवा, चैत २९ । नेपालमा आर्थिक संकट परेको भन्दै विदेशबाट आयातितवस्तुलाई कम गर्दै नेपालमा उत्पादित वस्तु तथा पिय पदार्थलाई ब्राण्डिङ् गरेर अगाडि बढ्नु पर्ने नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारीले बताएका छन् । आज भैरहवामा लुम्बिनी प्रेस क्लबसँगको अन्तत्र्रिmया कार्यक्रममा बोल्दै नेता भण्डारीले नेपालमा कोदोको रक्सी ब्राण्ड बनाएर देश तथा विदेशमा विक्रि गर्न सकिने बताएका हुन् । अहिले नेपालमा मानिसहरु रक्सीका सौखिन भएको र नेपालमा वार्षिक अरबौंको रक्सी आयात गर्नु भन्दा नेपालमा उत्पादित वस्तुलाई ब्राण्ड बनाएर विदेशमा विक्रि गर्नु पर्ने धारणा भण्डारीले व्यक्त गरे । उनले नेपालको गाउँ गाउँमा उत्पादन हुने तरकारी, मकै, कोदो, सुन्तला, स्याउलाई नेपालको ब्राण्ड बनाएर विदेश पठाउन सकिने बताए ।

‘नेपालमा उत्पादनमुखि नभई आयात केन्द्रित भएको र नेताले चुनाव आउँदा जनतालाई नयाँ नयाँ आश्वासन बाँड्ने र कार्यकर्ता नेताकै पछाडि लाग्ने प्रवृतिले गर्दा मुलुक टाँट पल्टने अवस्थामा पुग्यो । चुनावमा कपडा, मोवाइल र मासु भात बाँडेर चुनाव जित्ने प्रवृति गर्दा सक्षम र भिजन भएका नेता पछाडि परे । लिडरसिपको स्वार्थीका कारण मुलुक माफियाको हातमा पुग्यो । नेपालको संविधान नेपालले नै बनाएको हुनाले आर्थिक भार थेग्न नसकेकोले प्रदेश सरकारको कुनै पनि काम नभएको र केन्द्र सरकारमा १ सय भन्दा बढी सांसद आवश्यक छैन । स्थानीय निर्वाचनमा राजनीति हुँदा सक्षम र सबल व्यक्ति पछाडी परेको भन्दै स्थानीय तह स्वतन्त्र रुपमा हुनु पर्छ । स्थानीय तहको विकास, कला संस्कृतिको संरक्षण स्थानीय तहले नै गर्न सक्ने भएकाले स्थानीय सरकार बलियो बनाउनु पर्छ ।’ –भण्डारीले भने । नेता भण्डारीले स्थानीय तहको निर्वाचनमा गठबन्धनले हरेक क्षेत्रमा जित हाँसिल गर्ने निश्चित भएकोले कोही पनि कार्यकर्ता विचलित नभई एक ढिक्का भएर लाग्न मतदाताहरुलाई आग्रह गरे ।