काठमाडौं/ रुसी हमला प्रतिकार गर्न अमेरिकाले युक्रेनलाई लडाकु विमान र विमानका पार्टपुर्जाहरू प्रदान गरेको छ ।राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि ८० करोड डलर बराबरको सैन्य सहायता घोषणा गरेको केही दिनपछि अमेरिकाले लडाकु विमानहरू पनि उपलब्ध गराएको हो । तर विमानको प्रकार र संख्या नखुलाइएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रवक्ता जोन किरबीलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार युक्रेनी फौजसँग दुई साताअघिको तुलनामा अझै बढी ‘स्थिर पखेटा भएका लडाकु विमान’ छन् ।
युक्रेनलाई कस्तो किसिमको लडाकु विमान उपलब्ध गराइएको हो भन्ने स्पष्ट नपारेपनि किरबीले ती विमान ‘रुसमा निर्मित’ रहेको जानकारी दिए ।उनले युक्रेनले लडाकु विमानका केही पार्टपुर्जा प्राप्त गरेको भएपनि भएपनि हालसम्म सिंगो लडाकु विमान भने प्राप्त नगरिसकेको जानकारी दिए ।यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा मुलुकहरूसँग तत्कालीन सोभियत संघमा निर्मित मिग २९ लडाकु विमानको माग गर्दै आएका थिए ।
युक्रेनी फौजका पाइलटहरू उक्त विमान उडाउन अभ्यस्त भएका कारण उनले मिग २९ लडाकु विमानको माग गरेको बताइएको छ ।पोल्याण्ड लगायतका केही मुलुकले केही समयअघि जर्मनीस्थित नेटोको अमेरिकी सैनिक आधारबाट युक्रेनलाई मिग लडाकु विमान उपलब्ध गराउने प्रस्ताव गरेको थियो । यद्यपि त्यसबेला नेटोले यसबारे चासो देखाएको थिएन ।












