एसईईमा घट्दै परीक्षार्थी, शिक्षामा विश्वसनीयताको प्रश्न

प्रकाशित मिति:

स्याङ्जा- कोभिड महामारीका कारण विगत दुई शैक्षिक सत्र विद्यालयको आन्तरिक मूल्याङ्कनबाटै सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा एसईई यो वर्षबाट पुन  विगतको जस्तै परीक्षा केन्द्रहरुमार्फत् सञ्चालन हुन लागेको छ । एसईई परिक्षा संचालन, तयारी बारे शिक्षा विकास तथा समन्वय ईकाई स्याङ्जाले पत्रकार सहित सरोकारवालाहरु सगँको अन्तरक्रियामा जानकारी दिएको हो । अन्तरक्रियामा जिल्लाको शैक्षिक गतिविधि राम्रो भएपनि परिक्षार्थीको संख्या भने हरेक बर्ष घट्दोक्रममा रहेको शिक्षा समन्वयले जनाएको छ ।

हरेक बर्ष परीक्षार्थीको संख्या घट्दै गैरहेको छ । गतबर्ष एसईई परीक्षाका लागि ५ हजार २ सय परीक्षार्थीले आवेदन दिएका थिए । तर यो बर्ष भने जिल्लाबाट ९६ प्राविधिक धारका, ५१ ग्रेडबृद्धि र ४ हजार ७ सय ७६ साधारणतर्फ गरी ४ हजार ८ सय २७ विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा समन्वयका प्रमुख गुरुप्रसाद पौडेलले जानकारी दिए । गतबर्षको शैक्षिक सत्रको तुलनामा यो बर्षको शैक्षिकसत्रमा झण्डै ५ सय विद्यार्थी कम रहेको तथ्याङ्क देखिएको छ । चार बर्षको शैक्षिकसत्रको अवस्था हेर्दा परिक्षार्थीको संख्या घट्दै जान थालेको देखिन्छ प्रमुख पौडेलले भने,‘परिक्षार्थी घट्नुको कारण बढी बसाईसराई र जन्मदर घट्नु पनि हो ।’ अब जिल्लामै प्राविधिक कलेज, आधुनिक शिक्षालयहरु स्थापना सगै शैक्षिक गतिविधिमा विश्वसनीयता बढाउन सके परिक्षार्थीहरु घट्नेक्रम रोक्न मदत् मिल्छ उनले भने । २०७५ को शैक्षिकसत्र देखि २०७८ को शैक्षिकसत्र सम्म आईपुग्दा झण्डै एकहजार विद्यार्थी एसईईमा घट्दै आएको देखिएको छ ।

एसईई सञ्चालनको जिम्मेवारी पाएको शिक्षा विकास तथा समन्वय ईकाई स्याङ््जाले यो वर्षको लागि जिल्लामा तय भएको परीक्षा केन्द्र सार्वजनिक गर्दै ३५ वटा परीक्षा केन्द्रहरुबाट परीक्षा दिने व्यवस्था गर्न लागिएको जनाएको छ । आगामी वैशाख ९ बाट २० गतेसम्म देशैभर एकसाथ सञ्चालन हुन लागेको परीक्षामा स्याङ्जाबाट करिब ४ हजार ८ सय विद्यार्थीहरु सहभागी हुदैछन् ।सरकारले एसईईलाई केन्द्रको जिम्मेवारीबाट प्रदेशलाई हस्तान्तरण गर्ने बताईरहेपनि कानुन अभावमा यो वर्षको परीक्षा राष्ट्रिय परीक्षा बोर्डमार्फत् सञ्चालन हुन लागेको शिक्षा विकास तथा समन्वय ईकाई स्याङ्जाका प्रमुख पौंडेलले बताए । कोभिड महामारी र स्थानीय निकायको नजिकिँदो निर्वाचनबीच सञ्चालन हुन लागेको एसईई परीक्षामा यो वर्षबाट उत्तिर्ण हुन ३५ % अनिवार्य गरिएको उनले जानकारी दिए ।

ईकाई प्रमुख पौंडेलका अनुसार विद्यालयबाट विगत दुई वर्षमा भएका आन्तरिक मूल्याङ्कनको स्तरीयतामा प्रश्न उठेका कारण केन्द्रहरुबाटै परीक्षा सञ्चालन गर्न लागिएको हो । विद्यालयले नै परिक्षा संचालन गर्दा धेरै जनशक्ति लाग्ने र परीक्षाको स्तरीयतामा प्रश्न उठेका कारण केन्द्रमै गर्ने भन्ने छ पौंडेलल भने, ‘रोगको संक्रमणका बेला विद्यालयमा गर्दा राम्रो नतिजा आएन भन्ने गुनासो आयो ।’ परीक्षा र सम्परीक्षण स्तरीय नभएको गुनासो पछि परीक्षा केन्द्रहरुबाटै सञ्चालन गर्ने निर्णय भएको हो उनले भने । प्याब्सन स्याङ्जाका अध्यक्ष मेघराज गैह्रेले भने केन्द्रले गरेको सबै ठिक हुन्छ स्थानीयस्तरले गर्दा नराम्रो भन्ने मानसिकताले त शिक्षा प्रणाली कसरी सुध्रिन्छ र ? हामीले विद्यालय, शिक्षक र स्थानीय तहलाई जिम्मेवार बनाउने हो उनले भने । परिक्षा प्रणाली र विद्यार्थी संख्या बढाउन स्थानीयतहलाई जिम्मेवार बनाउन आवश्यक देखिएको तर्क अध्यक्ष गैह्रेको छ ।