काठमाडौं, वैशाख १० – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादमा सिधा उडान शुरु गरेको छ। निगमको वाइड बडी ए ३३० जहाजले रियादमा उडान थालेको हो। गएराति उद्घाटन उडानमा विभिन्न मन्त्रालयका उच्च अधिकारी, निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित विभिन्न विभागका प्रतिनिधि, व्यवसायीलगायत काठमाडौंबाट रियाद उडेका छन्। निगमका अध्यक्ष अधिकारीले विभिन्न बाधा अवरोधलाई पन्छाउँदै रियादमा ऐतिहासिक उडान शुरु गरिएको बताए। उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको नेतृत्व र मन्त्रालयको टिम तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा रियाद उडान सञ्चालन गर्न सफल भएकोमा सबैप्रति आधार प्रकट गरे।
निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको थियो। रियादस्थित नागरिक उड्डयन कार्यालयको जेनरल अथोरिटी अफ सिभिल एभिएसन्सले त्यहाँका तीनवटा शहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको थियो। निगमले पहिलो चरणमा वैशाख ९ गतेदेखि काठमाडौँ–रियाद–काठमाडौँ सातामा तीन उडान गर्नेछ।काठमाडौँ–रियाद गन्तव्यका लागि एकतर्फी भाडादर ३७ हजार रुपैयाँ कायम गरिएको छ। निगमका प्रवक्ता अर्चना खड्काले हाललाई एकतर्फी भाडादर कायम गरिएको बताइन्। निगमले साउदी अरेबिया उडानका लागि वाइडबडी र न्यारोबडी दुवै जहाजले उडान गर्नेगरी ‘स्लट’ पाएको छ।
यो गन्तव्यको उडानमा निगमले सहुलियतपूर्ण भाडादर, यात्रुलाई सुविधा ‘इनफ्लाइट’ खाना तथा रियादबाट फर्कंदा यात्रुले ४० केजी लगेज सुविधा पाउनेछन्। काठमाडौँ–रियाद एकतर्फी उडान अवधि ६ घण्टा १५ मिनेट र रियाद–काठमाडौँ उडान अवधि चार घण्टा ५० मिनेटको हुने निगमले जनाएको छ। नेपाली ध्वजावाहक वायुसेवा निगमको रियादको उडानसँगै अब आठ देशका १० गन्तव्यमा नियमित उडान हुने भएको छ। निगमले यसअघि भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको थियो। निगमले भारतको नयाँदिल्ली, मुम्बई, बैंग्लोर, दुबई, दोहा, क्वालालम्पुर, हङ्कङ, बैङ्कक र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ।












