देवदहमा एकबर्ष भित्र लालपुर्जा र दुई बर्षभित्र सडक स्तरउन्नती : हिरा केसी
हरिश ढकाल- देवदह, २३ बैशाख । रुपन्देहीको देवदहमा राजनैतिक गठबन्धनबाट पुन: नगर प्रमुखको उम्मेदवार बनेका देवदह नगरपालीकाका निवर्तमान नगर प्रमुख हिरा बहादुर केसीले एकबर्ष भित्र सुकुम्बासी तथा अब्यबस्थित बसोबास सम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । नगरप्रमुख केसी कै अघिल्लो कार्यकालमा रुपन्देहीमै पहिलो पटक देवदहमा सुकुम्बासी तथा अब्यबस्थित बसोबास क्षेत्रमा लगत संकलन सम्पन्न भै जग्गा नापजाँच र कित्ताकाट समेत शुरु भएकोले आगामी एकबर्ष भित्र लालपुर्जा बितरण गर्ने प्रतिबद्धता जनाएका छन । नगरप्रमुख केसीमै सकृयतामा भुमिहिन तथा सुकुम्बासी आयोगसँग सम्झौता भै देवदहमा नापजाँच र कित्ताकाट शुरु भएको हो ।
नेपाली काँग्रेसका क्षेत्रिय सभापति समेत रहेका युवा नेता केसीले देवदहका बिभिन्न वडाका भित्रि सडकहरुको स्तरउन्नती र सुधारको काम पनि शुरु भैसकेको जानकारी गराउदै आगामी दुईबर्ष भित्रमा सबै सडकहरु नगरपालीका कै बजेटमा कालोपत्रे गरिने बताउनु भएको छ । देवदहमा संचारकर्मीहरु सँथको छोटो भेटघाट कार्यक्रममा बोल्दै सकभर नगरपालीकाकै बजेटबाट सबै सडकको स्तरउन्नती गर्ने नसके प्रदेश र संघिय सरकारबाट बजेट ल्याएर भएपनि उक्त प्रतिबद्धता पुरा गरेरै छाढ्ने दावी केसीले गर्नु भएको छ । सडक सुधारका लागि आफुले अघिल्लो कार्यकाल मै ठोस योजना बनाएर काम शुरु गरिसकेको र प्रदेश सरकार तथा संघिय सरकारसँग बजेटका लागि पहल भैसकेको जानकारी गराउदै उम्मेदवार केसीले दुईबर्ष भित्र देवदहको रुपै फेरिने दावी समेत गर्नु भयो ।
यस्तै समग्र देवदहको कृषि क्षेत्रको बिकास र कृषि व्यवसाय प्रवद्र्धनका लागि देवदहमा आधुनिक तथा ब्यबस्थित कृषि उपज संकलन केन्द्र सञ्चालनमा ल्याउने तथा शीत भण्डारको निर्माण समेत गरिने बताउदै उम्मेदवार केसीले कृषिजन्य ब्यबसायमा करछुट र विद्युत महशुलमा पूर्ण अनुदानको व्यवस्था गरिने बताउनु भयो । यसअघि देवदह वडा नं ७ मा भएको गठबन्धनको संयुक्त घरदैलोका क्रममा नेता केसीले देवदह ७ मा रहेको बहुउद्देश्यीय कोशेली घरको निर्माण सम्पन्न भएको जानकारी गराउदै निकट भविष्यमा व्यवसायिक रुपमा सञ्चालन गरिने बताउनु भयो । नेता केसी २०७४ सालको निर्वाचनबाट मेयर पदमा निर्वाचित भैसक्नु भएको थियो । १ कार्यकाल मेयरको पद सम्हालि सक्नुभएका नेता केसीले देवदह नगरपालिका भित्र आधारभूत स्वास्थ्य सेवा नि:शुल्क गरिने र प्रत्येक वाडमा २४ घण्टे स्वास्थ्य सेवा र ल्याव सञ्चालन गरिने समेत उल्लेख गर्नु भयो ।
भवानीपुरको गोल्डेन टेम्पललाई वौद्ध सूचना केन्द्रको रुपमा विकास गरिने बताउदै निवर्तमान नगरप्रमुख केसीले निर्माणाधिन देवदह अस्पताललाई शीघ्र सञ्चालनमा ल्याई उच्चस्तरीय शिक्षा प्रदान गरि प्रतिवद्धता जनाउनु भएको थियो । ज्येष्ठ नागरिकहरुलाई बर्षमा २ पटक चिकित्सकीय सेवा घरघरमै उपलब्ध गराउन पहल गर्ने बताउदै केसीले देवदहमा पर्यटकीय चक्रपथ निर्माण र यातायातका साधनको नियमित सञ्चालन गरि सबै पर्यटकीय क्षेत्रमा विद्युत, खानेपानी, शौचालयको उचित व्यवस्थापन गरिने बताउनु भयो । देवदहमा रहेका आन्तरिक तथा बाहय पर्यटकलाई भित्रयाएर केही दिन देवदहमा नै राख्ने खालको व्यवस्था मिलाउने बताउनु भयो । त्यस्तै गरि गठबन्धनका तर्फबाट उपमेयर पदकी उमेदवार सुन्दरी गिरीले स्थानीय मिडिया, सामाजिक संस्था, लक्षित समूहलाई विशेष अनुदान सहित कार्यक्रम सञ्चालन गरिने बताउनु भयो । घरदैलो कार्यक्रममा वडा नं ७ का नेपाली कांग्रेसबाट वडा अध्यक्ष, सदस्य पदका उमेदवाहरुका साथै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा आस्था राख्ने नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।












