प्रकाश न्यौपाने
२७ बैशाख
नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका निर्वतमान मेयर भीमबहादुर थापा(भरत) ले कार्यकाल अवधिभर पाएको तलब/भत्ता र अन्य सुविधाबापतको रकम नगरपालिकामा जम्मा गर्नु भएको छ । मेयर पदमा निर्वाचित भए लगत्तै उहाले आफूले नगरपालिकाबाट कुनै पनि सुविधा नलिने घोषणा गर्नु भएको थियो ।
आफ्नो कार्यकालमा नगरपालिकामा भएका कामको प्रशंसा बटुलेका थापाले व्यक्तिगत लगानीबाट पनि अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका थिए । तलब/ भत्ता र अन्य सुविधाबापत पाएको कुल १८ लाख ५१ हजार ४ सय २४ रुपैयाँ मेयर थापाले नगरपालिकाको संचीत कोष र दैविक प्रकोप उद्धार विषेश कोषमा जम्मा गरेको प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले बताउनु भयो । जम्मा गरेको रकममा सेवा सुविधाबापतको १४ लाख ८६ हजार, दैनिक भ्रमण भत्ताबापतको १ लाख ४१ हजार ३ सय र बैठक भत्ताबापतको २ लाख २३ हजार रहेको नगरपालिकाले जनाएको छ ।
थापा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । पार्टीले अहिले मेयरको उमेदवारमा जिल्ला सभापति अर्जुनकुमार पोखरेललाई उठाएको छ ।












