गुल्मी/गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोकमा नेपाली कांग्रेस वडाध्यक्षका उम्मेदवार गोपाल थापामाथि हातपात भएपछि मतगणना अनिश्चित भएको छ ।जिल्लाका अन्य पालिकामा मतगणना चलिरहँदा धुर्कोटमा भने सर्वदलीय बैठक पनि बस्न सकेको छैन । शुक्रबार साँझ करिब ९ बजे पालिका केन्द्र बर्बोटमा माओवादी–एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा वडाध्यक्षका उम्मेदवार थापा घाइते भएका थियो ।
झडपमा थापासँगै जैसीथोकका निरञ्जन कुँवर र सञ्जय नेपाली पनि घाइते भएका छन् । घाइतेको गुल्मी जिल्ला अस्पतालमा उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ ।झडपमा सहभागी धुर्कोट रजस्थलका पाँच र गुल्मी दरबार गाउँपालिकाका एक गरी छ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए। निर्वाचन अधिकृत मुना पौडेलका अनुसार सर्वदलीय बैठक पनि सुरु हुन सकेको छैन ।मुजुल्कामा हस्ताक्षर गरेका दलहरुबीचमा सर्वदलीय बैठक राख्नुपर्ने भए पनि कांग्रेसबाट प्रतिनिधि नआउँदा बैठक बस्न नसकेको उनले जानकारी दिए । अहिले सर्वदलीय बैठकको प्रयास भइरहेको बताइएको छ ।












