तनहुँ जेठ ९ – तनहुँको व्यास नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ।मेयरमा वैकुण्ठनाथ न्यौपाने र उपमेयरमा इन्दिरा दरै विजयी भएका हुन्। मेयरमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशी पराजित भएका छन्।दुई सय ५२ को मतान्तरले न्यौपाने मेयर बनेका छन्। उनले १२ हजार ७८ मत पाए भने प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार जोशीले ११ हजार ८२६ मत पाए।
जोशी कांग्रेस नेता गोविन्दराज जोशीका छोरा हुन्। उनी कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा उम्मेदवार बनेका थिए।उपमेयरमा दरै १३ हजार ४९८ मत प्राप्त गरी विजयी भइन्। प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार वसुन्धरा घर्तीले दश हजार ४२ मत प्राप्त गरिन्।यहाँका १४ वडामध्ये कांग्रेसले ११ वडामा प्यानलसहित जितेको छ भने एमालेले तीन वडामा वडाध्यक्ष जितेको छ। एमालेले वडाध्यक्ष जितेको वडामा पनि कांग्रेसले सबै सदस्य जितेको छ।
व्यास–१ को वडाध्यक्षमा रमेशचन्द्र हड्खले, २ को अध्यक्षमा काशीराम श्रेष्ठ, ३ को अध्यक्षमा अनुप राना, ४ को अध्यक्षमा मनबहादुर गुरुङ, ५ को अध्यक्षमा विष्णुकुमार श्रेष्ठ, ६ को अध्यक्षमा जीवन गुरुङ, ७ को अध्यक्षमा कृष्णप्रसाद न्यौपाने, ८ को अध्यक्षमा युवराज गुरुङ, ९ को अध्यक्षमा सुरेश थापा, १० को अध्यक्षमा खेमराज पोख्रेल, ११ को अध्यक्षमा दलबहादुर दुरा, १२ को अध्यक्षमा बमबहादुर आले, १३ को अध्यक्षमा वसन्तबहादुर आले र १४ को अध्यक्षमा काजीमान श्रेष्ठ विजयी भएका छन्।












