भूमिहिन सुकुम्बासीलाई बसोबासको आधारमा निस्सा दिने बुटवलका नवनिर्वाचित मेयर पाण्डेको पहिलो निर्णय
बुटवल,९ जेठ । बुटवल उपमहानगरपालिकामा नवनिर्वाचित नगर प्रमुख खेलराज पाण्डेले भूमिहीन सुकुम्बासीलाई बसोबासका आधारमा बसोबास निस्सा उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् ।सपथ ग्रहणसंगै आज पदबहाली गर्दै पाण्डेले बुटवल क्षेत्रमा अव्यवस्थित भूमिहिन सुकुम्बासी जनताको अल्पकालिन तथा दीर्घकालिन समस्या समाधान गर्न लगत संकलन भएकालाई बसोबास प्रमाणित निस्सा उपलब्ध गराउने तथा नापजाँच प्रकृया बाँकी रहेकाहरुको लागि प्रकृया अगाडि बढाउन भूमि आयोगमा अनुरोध गर्ने निर्णय गरेको हो ।
त्यस्तै उपभोक्ता हितको लागि बजार अनुगमनलाई प्राथमिकता दिने अर्कोतिर निर्णयमा पनि हस्ताक्षर भएको छ । उपभोक्ताको हितको लागि स्थानीय बजारलाई व्यवस्थित गर्न उपभोग्य बस्तु तथा सेवाको गुणस्तर, परिमाण तथा मुल्यलाई सन्तुलन कायम गर्न प्राथमिकता दिईएको छ । सेवा प्रदायक तथा विक्रेताको नियमन अनुगमन गरी आम उपभोक्ताको हित प्रवद्धन गर्ने कार्यलाई प्राथमिकता दिई बजार अनुगमन तथा नियमन कार्यलाई प्राथमिकता दिने निर्णय गरिएको हो । बुटवल उपमहानगरपालिकामा सोमबार नगरप्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रा अर्यालले पदभार ग्रहण गरेलगत्तै नगरपालिकामा प्रस्ताव भईआएका यी दुई निर्णय सदर गरेका हन् ।












