शंकरनगर सामुदायिक वनद्वारा महिलालाई स्वरोगार तालिम

प्रकाशित मिति:

तिलोत्तमा । महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यसहित रुपन्देहीको शंकरनगर सामुदायिक वन उपभोक्ता समूह र तिलोत्तमा वार्ड नं १ को संयुक्त आयोजनामा महिलाहरुका लागि एक हप्ते जुत्ता चप्पल बनाउने तालिम दिइएको छ । सामुदायिक वन क्षेत्र भित्र रहेका तिलोत्तमा १–४ का ५० जना गृहिणी महिलाहरुलाई प्रदान गरिएको तालिमबाट महिलाहरु आयआर्जन गर्नसक्ने र उद्यमशिलताको समेत विकास हुने भएकाले तालिम फलदायी भएको सहभागिको भनाई छ ।तालिम समापन समारोहमा बोल्दै तालिममा सहभागि प्रशिक्षार्थी र प्रशिक्षकले कम लागतमा जुत्ता चप्पल बनाउने व्यवसाय सञ्चालन गर्न तालिम उपलब्धीमुलक भएको धारणा राखेका थिए ।

तालिमका प्रशिक्षक प्रतिमा पन्थले सीप सिकेर स्वरोजगार बन्नका लागि महिलाहरुमा दृढ इच्छाशक्ति हुनुपर्ने बताउनुभयो ।डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख बोधराज सुवेदीले तालिम लिएका मध्ये १० प्रतिशतले मात्र व्यवसायिकरुपमा पेशा अंगालेमा तालिम फलदायी हुने धारणा राख्नुभयो । उहांले सिकेको सीपलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सके महिला आत्मनिर्भर भई ब्यक्तित्व र नेतृत्वको समेत विकास हुने बताउनुभयो ।शंकरनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रबिन्द्र बस्नेतले महिलालाई उद्यमशील बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको बताउनुभयो ।

तालिम समापन समारोहमा तिलोत्तमा वार्ड नं १ का निवर्तमान वडाध्यक्ष तामनाथ पाण्डे, वनकी उपाध्यक्ष कमला ज्ञवाली, सचिव कालिका अधिकारी, सहभागी दिपा थापा लगायतले सामुदायिक वनले वनको संरक्षण संगै उपभोक्ताहरुको आयआर्जन बढाउने काम पनि गर्नुपर्नेमा जोड दिनुभएको थियो ।