पाँच स्थानीय तहको मात्रै मतपरिणाम आउन बाँकी

प्रकाशित मिति:

काठमाडौं, जेठ १२ – स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब काठमाडौं महानगरपालिकासहित पाँच पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ।निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार ७५३ मध्ये ७४८ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। गत वैशाख ३० गते देशभरका ७५३ स्थानीय तहको निर्वाचन भएको थियो।

मतगणना जारी रहेकामध्ये अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशको काठमाडौं महानगरपालिका, प्रदेश १ मा उदयपुरको त्रियुगा नगरपालिका, मधेश प्रदेशको गरुडा नगरपालिका र लुम्बिनी प्रदेशको तिलोत्तमा नगरपालिका रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले जानकारी दिए। सुदूरपश्चिमको बाजुराको बूढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानबिनका आधारमा निर्णय आउन बाँकी रहेको छ। अन्य स्थानीय तहको भने निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ। अधिकांश स्थानीय तहका जनप्रतिनिधिले पदभार ग्रहण गरिसकेका छन्।