एक्सपोज नेपालले महिनावारी दिवसमा काठमाडौँमा बृहत साइकल र्‍याली गर्ने

प्रकाशित मिति:

एक्सपोज नेपालले महिनावारी दिवसको अवसरमा काठमाडौँमा बृहत साइकल र्‍याली गर्ने भएको छ । २८ मे अर्थात् यही जेठ १४ गते शनिबार काठमाडौँको बसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म साइकल र्‍याली गरिने संस्थाका अध्यक्ष ज्ञान महर्जनले जानकारी दिनुभयो ।बुधबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै एक्सपोज नेपालले ‘विद्यालयमा महिनावारी’ भन्ने सन्देशका साथ वातावरणमैत्री पुन: प्रयोग गर्न मिल्ने प्याडको प्रयोगबारे चेतना जगाउन वातावरण मैत्री सवारीको प्रयोगबाट र्‍याली आयोजना गरिएको जानकारी दिएको हो । बिहान साढे ७ बजे बसन्तपुरबाट सुरु हुने र्‍याली दरबारमार्ग, पुतलीसडक, अनामनगर, थापागाउँ, बानेश्वर, बबरमहल, थापाथली हुँदै पुल्चोक, जावलाखेल, लगनखेलबाट मंगलबजार पुगी समापन हुनेछ । र्‍यालीमा ३०० जना साइकलयात्रीले सहभागिता जनाउनेछन् । मंगलबजारमा हुने समापन कार्यक्रमलाई उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सम्बोधन गर्नुहुनेछ । एक्सपोज नेपालले महिलामाथि हुने सबैखाले हिंसा र महिनावारी स्वच्छताको विषयमा काम गर्दै आइरहेको छ ।

सन् २००७ मा स्थापना भएको संस्थाले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउने, हिंसा न्यूनीकरणका लागि महिला पुरुष दुवैलाई चेतना अभिवृद्धि गर्ने, स्वस्थ महिनावारीका बारेमा कार्यक्रम गर्नुका साथै पुन: प्रयोग गर्न सकिने प्याड निमार्ण र बिक्रिवितरण गर्दै आएको छ । संस्थाले विभिन्न स्थानीय तहसँगको सहकार्यमा सिप प्रदान गरी हालसम्म काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, चितवन, बारा, सुर्खेतसहित २३ जिल्लाका ४ हजार ९ सय जना महिलालाई चेतना वृद्धिसहित आर्थिक उपार्जनका लागि काम गरिरहेको अध्यक्ष महर्जनले जानकारी दिनुभयो ।

प्रेस विज्ञप्ति- एक्सपोज नेपाल सन् २००७ अर्थात् वि.सं. २०६४ सालदेखि नेपालमा हुने सबैखाले महिला हिंसाका विरुद्धमा सक्रिय रहेको संस्था हो । यो संस्थाले स्थापनाकालदेखि नै कुनै पनि दातृसंस्थाको सहयोग लिएर आफ्नो कार्यालय सञ्चालन गरेको छैन । तर पनि संस्था सञ्चालनका लागि पुँजि न्यूनतम सर्त हो । तत्कालीन समयमा यस संस्थाले नेपालमा रहेका ६ जना व्यवसायिक कलाकारहरुको कला, पेन्टिङ खरिद गरी सो कलालाई खरिदको साढे ४ गुणा बढी मुल्य राखेर विक्रि गर्ने नीति लियो । ललितपुरको मंगलबजार केशवनारायण चोकका दुईवटा सटर भाडामा लिएर विदेशी पर्यटकहरुलाई यस्ता कलाकृति बेच्दै बचत भएको रकमबाट संस्था सञ्चालन हुँदै आएको हो । यसरी बिक्री हुने कलाकृतिबाट महिलामाथि हुने हिंसाका विरुद्ध र महिनावारी व्यवस्थापन एवं स्वच्छताका क्षेत्रमा विभिन्न कार्यक्रम, अभियानहरु सञ्चालन गर्दै आइएको छ । महिलामाथि हुने यौनजन्य दुव्र्यवहार, दुराचार र यौनिक हिंसाका क्षेत्रमा यो संस्था क्रियाशील रहँदै आएको छ ।
सन् २०१४ मा जर्मनमा तत्कालीन अभियन्ता एवं संघ संस्थाले महिनावारीका विषयमा सक्रिय हुनुपर्छ भनेर अगाडि आए । त्यस अभियान तथा कार्यक्रमबारे एक्सपोज नेपाल पनि जानकार थियो । सोही कुराबाट प्रभावित भएर हामीले पनि नेपालमा महिनावारीका समयमा महिलामाथि अनेक विभेद हुने गरेको र त्यस विभेदका कारण समेत हिंसा र हिंसाजन्य गतिविधि भइरहेको निष्कर्ष निकाली महिनावारी व्यवस्थापन र स्वच्छताका सम्बन्धमा कार्य गर्न थाल्यौँ ।

त्यतिखेर संस्थाको नेतृत्वकर्ता म पुरुष भएकै कारणले पनि महिनावारीका सम्बन्धमा काम गर्न असहज बनेको थियो । महिलाहरु खुलेर महिनावारीका विषयमा कुरा गर्दैनथे । महिनावारीका समयमा के कस्ता समस्या हुन्छन् र के प्रयोग हुन्छ भन्ने अध्ययन गर्दा नेपालका अधिकांश महिलाले कपडाको प्रयोग गर्ने गरेको पाइयो । तर त्यो प्रयोग व्यवस्थित भने थिएन । त्यसबेला नै महिलाहरुले प्रयोग गर्ने घरेलु कपडालाई नै व्यवस्थित गरी स्वस्थ स्वच्छ पुन: प्रयोग गर्ने कपडाको प्याड बनाउने योजना बनेको हो । त्यतिमात्र होइन, आफ्नै अनुभवका आधारमा महिनावारीका विषयमा पुरुषलाई समेत बुझाउनुपर्ने सोच राखी एक्सपोज नेपालले महिनावारी र यसको व्यवस्थापनका बारेमा महिला र पुरुषलाई सँगै राखेर कार्यक्रम तथा अभियान गर्दै आएको छ । एक्सपोज नेपालले सिप प्रदान गरी हालसम्म २३ जिल्लाका ४ हजार ९ सय जना महिलाहरुलाई चेतना वृद्धिसहित आर्थिक उपार्जनका लागिसमेत काम गरिरहेको छ ।

यसै सन्दर्भमा यस वर्षको अन्तराष्ट्रिय महिनावारी दिवसको दिन एक्सपोज नेपालले चेतनामुलक बृहत र्‍याली गर्दैछ । २८ मे अथात् यही जेठ १४ गते शनिबार ‘विद्यालयमा महिनावारी’ नाराका साथ यो कार्यक्रम आयोजना गरिएको छ । एक्सपोज नेपालले प्रवद्र्धन गरी सञ्चालनमा ल्याएको च्यारिटी सपले बनाएका र विभिन्न स्थानका दिदीबहिनीहरुले उत्पादन गरेका पुन: प्रयोग गर्न मिल्ने प्याड जुन रसायनरहित, वातावरणमैत्री, कम खर्चिलो र स्वस्थकर प्याड तथा वातावरणमैत्री साइकल, कम खर्जिलो, स्वस्थ हुने हुँदा प्याड र साइकलको सम्बन्ध जोडेर यसको माध्यमबाट धेरै भन्दा धेरै पुरुषहरुलाई महिनावारीबारे चेतना दिने र उनीहरुले आर्थिक पलायनलाई नियन्त्रण गर्ने वृहत उद्देश्य राखी यस्तो कार्यक्रम आयोजना गरिएको हो । आसा छ, यसकिसिमका कार्यक्रमले स्वस्थ र स्वच्छ महिनावारी, महिलामाथि हुने हिंसाजन्य दुव्र्यवहारमा कमी र आर्थिक रुपमा सवल परिवार निर्माणका लागि भूमिका खेल्नेछ ।