काठमाडौँ, जेठ १५ – तारा एयरको विमान दुर्घटनामा परि मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइने भएको छ। आइतबारदेखि सम्पर्कविहीन विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरे भन्ने भीरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको सूचनापछि नेपाली सेना र प्रहरीको टोली सानुसरे भीरमा पुगेर शव संकलन गरिरहेका बताइएको छ । ती शवलाई काठमाडौं ल्याइने र आफन्तको जिम्मा लगाइने त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिएका छन्।
१९ यात्रु र चालक दलका तीन सदस्य सवार विमान आइतबार बिहान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन भएको थियो। खोजी गर्दै जाँदा आज बिहान १४ हजार ५०० फिट इचाइमा जहाज दुर्घटना भएको अवस्थामा फेला परेको थियो ।जहाज र शव छरिएको अवस्थामा फेला परेको दुर्घटनास्थलमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्दुसिंह शेरचनले बताएका छन् । शव नजलेको र चिनिने अवस्थामा रहेको पनि उनले बताए ।जहाज दुर्घटनामा धनुषाको मिथिला नगरपालिका-११ लोटाका एकै परिवारका सात सदस्य पनि परेका छन् ।क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएको जहाजमा कोपाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा थिइन् ।












