बुटवल, १९ जेठ । रिलायन्स फाइनान्स लिमिटेडले बुटवल उपमहानगरपालिका वडा नं. ६ अमरपथमा २१ औं शाखाको शुभारम्भ गरेको छ ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे र रिलायन्स फाइनान्स लिमिटेडका अध्यक्ष कुशप्रसाद मल्लीले संयुक्तरुपमा रिबन काटी बुटवल शाखाको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेले बुटवल आर्थिक राजधानीको केन्द्र बिन्दु भएकाले बैक तथा वित्तीय संस्थाहरु खुल्नेक्रम जारी रहेको बताउँदै शुभकामना व्यक्त गरेका थिए । उनले ऐतिहासिक तथा व्यापारिक मार्ग बुटवलमा आफ्नो कार्यकालको सुरुका चरणमा सडक, सुकुम्बासी, खानेपानी र ज्योतिनगरको पहिरो व्यवस्थापनमा केन्द्रित भएर काम गर्ने बताए ।संस्थाका अध्यक्ष कुशप्रसाद मल्लीले बुटवलमा रहेको शाखा कार्यालयले सेवाग्राहीहरुलाई छिटो, छरितोरुपमा सेवा उपलब्ध गराउने बताए ।विं.सं. २०६६ मंसिर १० गते नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको वित्तीय कारोबार गर्ने इजाजतप्राप्त वित्तीय संस्थाले २०६६ मंसिर १८ गते काठमाडौंको प्रदर्शनीमार्गबाट प्रधान कार्यालय रहेर औपचारिक रुपमा आफ्नो कारोबार सुरुवात गरेको थियो ।
विं.सं. २०७१ साल बैशाख २५ गतेदेखि रिलायन्स र लोटस मर्ज भई संयुक्त कारोबार हुँदै आएको संस्थाको कुल चुक्ता पुजी १ अर्ब ५ कारोड, डिपोजिट करिब रु ६ अर्ब ३८ करोड, कर्जा रु ५ अर्ब ५३ करोड रहेको बुटवल शाखाका का.मु. प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले बताए । देशका विभिन्न जिल्लाहरु काठमाडौं, पोखरा, काभ्रे, झापा, गोरखा, कोहलपुर, महेन्द्रनगर, भैरहवा, चितवन, लमजुङ, धनगढी, अत्तरीयालगायत १५ भन्दा धेरै जिल्लाहरुमा आफ्नो कारोवार सञ्चालन गर्दै आएको संस्थाले बुटवलमा २१ औं शाखाको रुपमा सञ्चालनमा आएको हो ।
त्यस्तैगरी संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरुलाई ई–बैंकिङ्ग, एससिटी नेटवर्क एटिएम, विभिन्न रेमिटेन्स सेवाहरु, आइपीएस, कनेक्ट आईपीएस सेवा, एबीबीएस सेवा, इलेक्ट्रोनिक चेक क्लियरिङ, एसएमएस बैकिंङ्ग, एससीटी मोकोलगायतको सेवाहरु प्रदान गर्दै आईरहेको छ । उद्घाटन कार्यक्रममा उक्त फाइनान्सका संस्थापक तथा पूर्व सञ्चालक वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, बुटवल वडा नं. ६ का वडा अध्यक्ष लोकनाथ न्यौपाने, बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु महेशमान सिंह, ज्ञानेन्द्र कसजू, सुरेन्द्रप्रसाद श्रेष्ठ, खिम बहादुर हमाल, जीवनप्रसाद वझा, अध्यक्ष उज्ज्वल कसजूलगायतका सामाजिक एवं प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।












