काठमाडौं, जेठ २४ – काठमाडौंको फोहोर बञ्चरेडाँडा लैजान प्रहरीले बल प्रयोग गरेको छ । सहरी विकास मन्त्रालयमा सोमबार स्थानीय जनप्रतिनिधिसहितको छलफलपछि भएको सहमति भएपछि मंगलबार बिहान काठमाडौंबाट फोहोर बोकेका ट्रिपर बञ्चरेडाँडातिर लागेका थिए। तर स्थानीयहरुले आफूहरुलाई थाहै नदिई सहमति गरेको भन्दै धर्ना दिएका थिए। स्थानीयले धर्ना गरेपछि प्रहरीले उनीहरुमाथि बल प्रयोग गरेका छन्। बल प्रयोगको क्रममा प्रहरी र स्थानीयबीच झडप समेत भएको छ।
उनीहरुले मन्त्रालयमा भएको सहमति आफूहरुलाई थाहा नभएको बताउँदै फागुन २६ मा भएको निर्णय कार्यान्वयन गर्नुपर्ने माग राख्दै सडक अवरुद्ध र धर्ना दिएका थिए।धर्नामा बसेका दर्जन बढी स्थानीयलाई नियन्त्रणमा लिएको सरोकारवाला समितिका उपाध्यक्ष सन्नोत उप्रेतीले बताएका छन् । समितिका अध्यक्षका श्रीराम ढुंगानासहित केही स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए।उनले प्रहरीले त्यसवरपर स्थानीयलाई हिँड्न पनि नदिएको बताएका छन् । त्यस्तै यसअघि विरोध गर्दै आएका व्यक्तिहरुको घरघरमा पुगेर प्रहरीले धरपक्कड गरेको बताएका छन्। प्रहरी परिचालन गरेर फोहोर लगेपछि धुनिवेशीको कुरुले क्षेत्र र बञ्चरेडाँडा क्षेत्रमा प्रहरी र स्थानीयबीच पटकपटक झडप भएको समेत बताइएको छ।












