७ पुस, काठमाडौं । साउदी अरबमा अक्सर तेलको कुरा हुन्छ, तर पानीको विषय अब ज्यादा जरुरी भएको छ । तेलका कारण साउदी अरब धनी छ, तर पानीको प्यास यहाँ लगातार बढ्दै गएको छ । सेप्टेम्बर २०११ म साउदी अरबमा एक खानीमा संलग्न फर्मका उपप्रमुख मोहम्मद हानीले भनेका थिए– यहाँ सुन छ, तर पानी छैन र सुनजस्तै पानी महंगो भएको छ । साउदीले तेल बेचेर अथाह कमाई गरिरहेको छ । तर, यो कमाइको ठूलो हिस्सा समुन्द्रको पानी खान योग्य बनाउनमै खर्च गर्नु परिरहेको छ । यहाँ न नदी छ, न कुनै ताल । कुवा छ, तर पानीको हैन तेलको । पानीका कुवा उहिल्यै सुकिसके । २०११ मै साउदीका तत्कालीन पानी र विजुलीमन्त्रीले भनेका थिए, ‘साउदीमा पानीको माग हरेक बर्ष शतप्रतिशतको दरले बढिरहेको छ र आगामी एक दशकमा यसको लागि १३३ अबै डलर खर्च गर्नुपर्ने छ ।’
साउदी अरबको सालिन वाटर कन्वर्जन कार्पले हरेक दिन समुन्द्रको ३०.३६ लाख क्यूबिक मिटर पानीबाट नुनलाई अलग गराएर प्रयोग योग्य बनाउँछ ।
यो २००९ को आँकडा हो । जुन अहिले पक्कै पनि बढेको होला । यसका लागि हरेक दिनको खर्च ८०.६ लाख रियाल हुन आउँछ । त्यस समय एक क्यूबिक मिटर पानीबाट नुनलाई अलग गर्ने खर्च २.५७ रियाल हुन आउँथ्यो । यसमा ढुवानी खर्च १.१२ रियाल प्रतिक्यूबिक मिटर जोडिन आउँथ्यो ।
पानीको खपत कति ?
साउदीले २०१५ मै पिउने पानीको व्यवसायिक प्रयोगमा कर बढाएको थियो । मनपरि पानीको प्रयोग नहोस् भनेर उसले कर बढाएको थियो । विभिन्न अनुसन्धानले अबको ११ बर्षमा साउदी अरबको भूमिगत पानी पूर्णरुपले सकिने देखाएको छ । साउदी अरबको अखबरवार अल–वतनको रिपोर्टअनुसार खाडी देशमा प्रतिव्यक्ति पानीको खपत विश्वभरमा सबैभन्दा ज्यादा छ । साउदी अरबमा प्रतिव्यक्ति पानीको खपत हरेक दिन २६५ लिटर छ, जुन युरोपियन देशको भन्दा दुईगुणा ज्यादा हो । साउदी अरबमा एउटा पनि नदी या तलाउ छैन । हजारौं बर्षदेखि साउदी अरबमा पिउने पानीका लागि कुवा निर्भर थिए तर बढ्दो जनसंख्याका कारण भूमिगत पानीको दोहन बढ्दै गयो । यसको भर्पाइ प्राकृतिरुपमा हुन सकेन । विस्तारै–विस्तारै कुवाको गहिराई बढ्दै गयो र समय यस्तो आयो सबै कुवा सुके । साउदी अरबमा कति बर्षा हुन्छ ? तलमिज अहमद साउदी अरबमा भारतका लागि चार बर्ष राजदूत भइसकेका व्यक्ति हुन् । उनी भन्छन्,‘ साउदीमा हरेक बर्ष डिसेम्बर–जनवरीमा हावाहुरीका साथ बर्षा हुन्छ । त्यो पनि केवल एक–दुई दिन ।’ यत्ति बर्षाले भूमिगत पानीलाई ‘रि–चार्ज’ गर्न सक्दैन ।
साउदीले पानीमा कति खर्च गर्छ ?
साउदीमा शुद्ध पानीको विकराल समस्या छ । सबैभन्दा पहिला साउदीमा भूमिगत पानीको प्रयोग गरियो तर यो महंगो सावित भयो । साउदी मात्र होइन पुरै मध्य–पूर्वमा पानी निकै महंगो छ । पानीको कमिको कारण साउदीले गहुँको खेती सुरु गरेको थियो । त्यसलाई बन्द गर्नुप¥यो । साउदी आफ्नो भविष्यलाई लिएर त्रसित छ । सन् २०१० मा विकिलिक्सले अमेरिकाको एक गोप्य दस्तावेज सार्वजनिक गरेको थियो । जसमा भनिएको थियो कि राजा अब्दुल्लाले साउदीको खाद्य कम्पनीहरुलाई विदेशमा जमिन खरिद गर्न भनेका थिए ताकि त्यहाँबाट पानी ल्याउन सकियोस् ।विश्व बैंकको रिपोर्टअनुुसार साउदीले यतिबेला आफ्नो कुल ग्राहस्थ उत्पादनको दुई प्रतिशत खर्च पानीको अनुदानका लागि खर्च गर्छ । यो रिपोर्टमा भनिएको छ २०५० सम्म मध्य–पूर्व र उत्तरी अफ्रिकाका देशहरुलाई आफ्नो कुल ग्राहस्थ उत्पादनको ६ देखि १४ प्रतिशतसम्म पानीका लागि खर्च गर्नुपर्ने छ । मध्यपूर्व र उत्तरी अफ्रिकाका अधिकांश देश पानीको माग पूरा गर्नमा अक्षम हुँदै आएका छन् । विश्व बैैकका अनुसार २०५० मा यि देशमा पानीको उपलब्धता प्रतिव्यक्ति आधाले कम हुने छ ।
पानी सकिएपछिको विकल्प के ?
समुन्द्रको पानीबाट नुनलाई अलग गर्नु एक विकल्प छ । यो प्रक्रियालाई ‘डिसालिनेशन’ यानी विलवणीकरण भनिन्छ । विश्वभर यही तरिका लोकप्रिय छ । विश्व बैंकका अनुसार मध्यपूर्व र उत्तरी अफ्रिकाका देशमा विलवणीकरणको प्रक्रियाको क्षमता पुरै विश्वको आधा छ । विश्वमा १५० देश समुन्द्रको पानीबाट नुन लगल गरेर आफ्नो आवश्यकता पुरा गर्दै आएका छन् ।
इन्टरनेसनल डिसालिनेसन एसोसियशनका अनुसार विश्वभरमा ३० करोड व्यक्तिको पानीको दैनिक आवश्यकता विलवणीकरणद्वारा पुरा हुन्छ । यद्यपी यो प्रक्रिया पनि कम जटिल छैन । यसको लागि ठूलो उर्जाको आवश्यकता पर्दछ । जसको ठूलो हिस्सा डिजेल र पेट्रोलबाट पूर्ति गर्नुपर्ने हुन्छ ।












