बैशाखसम्म फिल्म अफर नगर्न विपिनको आग्रह

प्रकाशित मिति:

फिल्म ‘प्रसाद’ र ‘जात्रा’ सिरिजको सफलतापछि अभिनेता विपिन कार्कीको करिअर उचाईंमा छ । चरित्र निर्माणमा गर्ने मिहिनेत र अभिनय उम्दा गर्ने भएकाले उनलाई फिल्म अफरको ओइरो छ । उनको नामले हलसम्म दर्शकको ठूलो भीड तान्न सक्ने स्टारडम नभएपनि उनीप्रति निर्माता तथा निर्देशकको विश्वासमा कमी आएको छैन । उनी अहिलेका सर्वाधिक महंगा अभिनेतामा पर्छन् ।

अचेल विपिन कार्कीले अभिनेता अनमोल केसी बराबर पारिश्रमिक डिमान्ड गर्ने गरेको फिल्म वृतमा चर्चा छ । हालसालै उनले आफूलाई अफर भएका दुई फिल्ममा ५० लाख बढी पारिश्रमिक मागेका थिए । उनको पारिश्रमिक सुनेपछि निर्मातारनिर्देशकले कुरै अगाडि बढाउन सकेनन् । उनले माग गरेको पारिश्रमिक उनको स्टारडमको वजनभन्दा ठूलो भएको कतिपयको टिप्पणी छ ।

तर, विपिनले पैसाको कुरा नमिलेर फिल्म नगरेको आफूसँग अनुभव नभएको बताउँछन् । फिल्ममा आफूलाई तिरेको पारिश्रमिक फिर्ता पाउने विश्वासले नै निर्माताहरुले आफूमाथि लगानी गरिरहेको हुनसक्ने उनको भनाई छ । बिहीवार फिल्म ‘प्रसाद २’को घोषणा सभामा उनले बैशाखसम्मका लागि आफ्नो सेड्युल फिक्स भइसकेकाले फिल्मको अफर नगर्न पनि आग्रह गरेका छन् ।उनले भने, ‘कति फिल्महरु पैसासम्म नपुगि नै काम गर्ने वा नगर्ने भन्ने टुंगो लाग्छ । स्कृप्ट हेरेर क्यारेक्टरमा म कन्भिन्स भइनँ भने काम गर्दिनँ । र, जति पनि फिल्महरु मैले गरिनँ, त्यसको क्यारेक्टरले कन्भिन्स नगरेरै हो । तर, पैसाको कुरा नमिलेर मैले फिल्म छाडेको अनुभव छैन । बरु, सित्तैमा पनि फिल्ममा काम गरेको अनुभव छ । मैले ‘रातो सुटकेस’ भन्ने फिल्म सित्तैमा गरेको थिएँ ।’

धेरै फिल्मबाट अफर आउने भएकाले सबै फिल्ममा आफूले काम गर्न नसक्ने विपिन बताउँछन् । ‘मैले धेरै पारिश्रमिक मागेर फिल्म छाडेको भन्ने खबर आइरहन्छ । मलाई धेरै फिल्मबाट अफर आउँछ । ‘प्रसाद २’कै समयमा तीनवटा स्क्रिप्टबाट अफर आयो । त्यसमध्ये मैले एउटा मात्र छानेँ । म स्क्रिप्ट, क्यारेक्टर, निर्देशक र टिमको आधारमा फिल्म छनौटको निर्णय लिने गर्छु,’ उनले भने ।