प्रतापपुरमा उखु किसानले बाकी बक्यौता साउनमा पाउने

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने
असार २१ गते
नवलपरासी ।

पश्चिम नवलपरासीमा विगत ४ बर्षदेखि उखु किसानहरुले उखु बेचेर पाउन बाकी रहेको बक्यौता रकम दिलाउन प्रतापपुर गाउपालिकाद्रारा पहल गरिएको छ । नवलपरासीको प्रतापपुर गाउँपालिका वडा ८ गंगापुरमा रहेको ईन्दिरा सुगर ईन्डष्ट्रिीज प्रा.लि. (चिनी मिल) ले किसानहरुको बक्यौता भुक्तानी रकम भुक्तान दिई मिल पुनः संचालनमा ल्याउने भएपछि किसानहरुमा भुक्तानी पाउने भएका हुन ।

सोमबार प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव उपाध्यक्ष मानकुमारी चौधरी र चिनि मिलका संचालक राकेश अग्रवाल बिच भएको छलफलबाट मिल संचालक अग्रवालले किसानहरुको तिर्नुपर्ने सम्पुर्ण भुक्तानी रकम तिरेपछि आगमी उखु क्रसिङ्ग सिजनबाट मिल संचालनमा ल्याउने सहमती भएको हो । उमेश यादव गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि उखु किसानहरुको भुक्तानी समस्या सामाधानका लागि निरन्तर मिल संचालक अग्रवाल संग समन्वय गर्दै आएका थिए ।

गाउँपालिका अध्यक्ष यादवले आफ्नै कार्यकक्षमा मिल संचालक अग्रवाललाई बोलाई साउन मसान्तभित्रै किसानहरुको सम्पुर्ण भुक्तानी दिनुपर्ने अग्रवालसंग सहमती गराउदै मिल संचालनका लागि पालिकाले सहज वतावरण निर्माण गरि भरपुर सहयोग गर्ने बताउनु भयो ।
गाउँपालिका र मिल संचालक बिच भएको छलफलबाट मिलले साउनको पहिलो साताबाटै भुक्तानीको सेडुल निकाली किसानहरुलाई भुक्तानी शुरु गर्ने र आगामी क्रसिङ्ग सिजनबाट मिल संचालन गर्ने सहमति भएको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिनु भयो । छलफलमा मिल संचालक अग्रवालले मिलमा रहेको चिनी र कबाडहरु विक्री गरि सिधै खातामा पैसा जम्मा गर्ने र उक्त पैसा सेडुल अनुसार साउनभित्रै किसानहरुलाई भुक्तानी दिने प्रतिबद्धता जाहेर गरे । मिलले, किसानको करिब ७० लाख रुपैया मात्र भुक्तानी दिनुपर्ने दावी गरे तर उखु उत्पादक कृषक संघको किसानहरुले करिब १ करोड ५० लाख रुपैया भुक्तानी पाउने पर्ने तथ्याङ्क देखिएको छ ।

उखुको भुक्तानीका लागि मिल संचालकबाट विगतमा विभिन्न सहमतिहरु भई पुरा हुन नसकेपछि यस पटकको यो सहमति भने पुर्ण रुपमा कार्यान्वयमा ल्याउने संचालक अग्रवालले बताउनु भयो । उहाँ भन्नुहुन्छ -‘‘ अहिले गाउपालिकाको पहलमा भएको यो सहमति कार्यन्वन गरि मिल संचालन गर्न तयार छु । असारको क्लोजिङ्गमा व्यस्त छुँ, साउनको पहिलो सातादेखी नै उखु किसानहरुको भुक्तानी गराउने र अबका दिनमा आफै खटिएर मिल चलाउने मेरा योजना रहेको छ ।”

छलफलमा गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादव, उपाध्यक्ष मान कुमारी चौधरी, प्रमुख प्रसकिय अधिकृत चिरन्जीवि घिमिरे, वडा नं. ८ का अध्यक्ष सन्तोष राजभर, मिल संचालक राकेश अग्रवाल, मिलका महाप्रबन्धक सुरेन्द्र प्रसाद सुक्ला, उखु उत्पादक कृषक संघका उपाध्यक्ष खेमनारायण चौधरी, ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक नवराज केसी, उखु किसान कादिर अलि लगायतको उपस्थिती रहेको थियो ।