काठमाडौँ । सिसडोल र बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य स्थानीय तहमा पनि आज (आइतबार) देखि फोहोर वर्गीकरण गर्नुपर्नेछ ।
घर, कार्यालय, कलकारखानाबाट उत्सर्जन हुने कुहिने र नकुहिने फोहोरलाई छुट्याएर अलग-अलग भाँडोमा मात्र फोहोर सङ्कलन गर्ने सवारीसाधनसम्म ल्याउनुपर्ने हुन्छ । फोहोर वर्गीकरण नगरे ल्याएको फोहोर फिर्ता लैजानुपर्ने हुन्छ र कारबाहीस्वरूप नगद जरिवाना समेत तिर्नुपर्ने हुन्छ । काठमाडौँ महानगरपालिकाले आज (साउन १) गतेदेखि लागू हुने गरी सो प्रावधान लागू गरेको छ ।
काठमाडौँ महानगरपालिकाका कृषि तथा वातावरण विभाग प्रमुख सरिता राईले फोहोरको सहज सङ्कलन तथा व्यवस्थापनका लागि साउन १ गतेदेखि स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र सङ्कलन गर्ने प्रावधान कडाइसाथ लागू गर्ने जानकारी दिएकी छन् ।
उनका अनुसार महानगरले हप्तामा दुई दिन कुहिने र दुई दिन नकुहिने फोहोरको सङ्कलन र व्यवस्थापन गर्नेछ । आइतबार र बुधबार कुहिने र सोमबार र शुक्रबार नकुहिने फोहोरको सङ्कलन तथा व्यवस्थापन गर्ने उनले जानकारी दिएकी छन् । विभाग प्रमुख राईका अनुसार कुहिने र नकुहिने फोहोर छुट्याएर नल्याए प्रत्येक पटक पाँच सय रुपियाँ जरिवाना समेत गरिनेछ ।राईले कुहिने फोहोरलाई सकेसम्म कम्पोस्ट मल, गड्यौले बनाई आफ्नै करेसाबारी वा कौसीखेतीमा प्रयोग गर्न, नकुहिने पुनः प्रयोग हुनसक्ने सामानलाई पुनः प्रयोग गर्न र चक्रीय फोहोरलाई कवाडी व्यवसायीलाई बिक्री गरी आर्यआर्जन गर्न समेत महानगरले आग्रह गरेको बताएकी छन् । त्यसैगरी प्लास्टिकको झोलाको सट्टा कपडा वा जुटको झोला प्रयोग गर्नसमेत महानगरले आग्रह गरेको छ ।












