८ पुस, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा सदस्यहरुले धारणा राख्नेक्रम आज सकिदैछ । हिजो वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरूले राजनीतिक प्रतिवदेनका साथै समसामयिक मुद्दाहरूमा आ–आफ्नो धारणा राखेका थिए । अमेरिका भ्रमणका क्रममा बैठकमा उपस्थित हुन नसकेकाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज धारणा राख्ने कार्यक्रम रहेको छ । सदस्यहरुले धारणा राखिसकेपछि पहिला महासचिव र पछि अध्यक्षहरुले बोल्ने कार्यक्रम छ ।
बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रतिवेदन प्रस्तुत भएपछि त्यसैमा छलफल भइरहेको छ । मन्त्री ज्ञवालीले शनिबारको बैठकमा आफ्नो अमेरिका भ्रमणका बारेमा पार्टीलाई औपचारिक जानकारी गराएका थिए । गत मङ्सिर २९ गते सुुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले बैठकमा उठेका जिज्ञासाको जवाफसहितको धारणा राखेपछि बैठक सकिनेछ । स्थायी कमिटीका ४५ र छ जना आमन्त्रितसहित ५१ सदस्यीय बैठकमा बोल्ने वक्तालाई २० मिनेटको समय निर्धारण गरिएको छ ।












