कांग्रेस महासमिति बैठक आज सक्ने तयारी !

प्रकाशित मिति:

पुस, ८ काठमाडौ । नेपाली कांग्रेस महासमिति बैठक आज सकिँदैछ। हिजो ढिलो गरी सुरू भएको महासमिति बैठकमा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि जिल्ला सभापतिहरूले धारणा राख्ने क्रम सकेपछि नेतृत्वले सम्वोधन गरेर बैठक सकिनेछ ।केही जिल्ला सभापति र महासमिति सदस्यहरूले विधान प्रस्तावमाथि धारणा राखेपछि साँझ महासमिति बैठक समापन गर्ने तयारी भइरहेको कांग्रेसले जनाएको छ।केन्द्रीय समितिबाट सर्वसम्मतरूपमा पारित भएर आएको विधान प्रस्तावमाथि जिल्ला सभापति र महासमिति सदस्यहरूले केही बुँदामा असहमति राखे पनि विधानमा तलमाथि केही नगर्ने सभापति शेरबहादुर देउवाले स्पष्ट पारेका छन् ।
हिजो महासमिति बैठक सुरू हुनुपूर्व कांग्रेस जिल्ला सभापतिसहित वरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवलगायतसँग भएको छलफलमा सभापति देउवाले केन्द्रीय समितिबाट सर्वसम्मतरूपमा पारित भएको विधानको कुनै पनि बँुदा परिवर्तन नगर्ने स्पष्ट पारेका थिए । कांग्रेस केन्द्रीय समितिले ल्याएको विधान संशोधन प्रस्तावमा समावेशी सिद्धान्तको आधारमा आठ सहमहामन्त्रीसहित एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक कोषाध्यक्ष राख्ने व्यवस्था छ । जसमध्ये कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुनुपर्छ । विधान संशोधन प्रस्तावमाथि हिजो २६ जना जिल्ला सभापतिहरूले धारणा राखेका थिए । आज दिनभर छलफल गरेर भएपनि बैठक सक्ने तयारी भइरहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।