संघीय निर्वाचनमा १० अर्ब खर्च हुने निर्वाचन आयोगको प्रक्षेपण

प्रकाशित मिति:

काठमाडौं, साउन २९ – निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि १० अर्ब खर्च हुने बताएको छ । आइतबार विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा प्रमुखहरुसँगको छलफल कार्यक्रममा आयोगले निर्वाचन प्रयोजनका लागि १० अर्ब खर्च हुने जानकारी गराएको हो । आयोगले १ करोड ८२ लाख मतदाता र १० हजार ८२५ मतदानस्थल कायम रहने पनि जानकारी दिएको छ । त्यसैगरी अस्थायी मतदान केन्द्रबाहेक करिब २२ हजार ५०० मतदान केन्द्र रहनेछन् ।

त्यसैगरी आयोगले मतदातास्थलको पुनरावलोकन, सामनुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम र अन्तर्राष्ट्रिय संस्थालाई पर्यवेक्षणका लागि आह्वान गरेको छ । निर्वाचन आचारसंहितालाई थप व्यावहारिक बनाउने, सञ्चारमाध्यमलाई स्वनियमन गर्न प्रेरित गर्ने, सामाजिक सञ्जालमार्फत हुने राजनीतिक विज्ञापनको अनुगमन गर्ने र निर्वाचन खर्चप्रतिको धारणा र त्यसको वास्तविकताप्रतिको बुझाइ स्पष्ट गर्ने आयोगको सोच छ । आयोगले खर्चको सीमा सूत्रमा आधारित प्रणाली अवलम्बन गरी आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ ।

आयोगले निर्वाचनलाई सफल तुल्याउन उपयुक्त वातावरण बनाउने काममा सहयोग पुर्‍याउन आह्वान गरेको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निश्पक्ष र मितव्ययी बनाउन आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले सत्यतथ्य समाचार सामग्री सम्प्रेषण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचन सफल तुल्याउन महत्वपूर्ण भूमिका रहेको मुलुकका जिम्मेवारी आमसञ्चार माध्यमबाट यसअघि जस्तै सकारात्मक भूमिका प्राप्त विश्वास व्यक्त गरे । आयोगले निर्वाचन कार्यतालिका निर्माण, निर्देशिका एवं कार्यविधि तर्जुमारपरिमार्जन, राजनीतिक दल दर्ता आह्वान, आर्थिक व्यवस्थापन कार्यविधि, बजेट तर्जुमा र मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु गरेको उनले जानकारी दिए।