राष्ट्रपतिको सुझाव : संवेदनशीलतालाई बुझेर विधेयक अघि बढाइयोस्

प्रकाशित मिति:

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् ।राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेका विज्ञप्तिमा प्रतिनिधिसभाका सभामुखबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएको नेपालको संविधानको धारा ११३ को उपधारा ९३० बमोजिम सन्देशसहित यो विधेयक फिर्ता पठाएकी जनाइएको छ ।

विधेयक फिर्ता पठाउँदै राष्ट्रपति भण्डारीले संसद् र सरकारलाई १५ बुँदे सुझाव तथा ध्यानाकर्षण गराएकी छन् । संविधान जारी भएपछिको पहिलो नागरिकता विधेयक भएकाले समग्रतालाई सम्बोधन गर्नुपर्ने उनको सुझाव छ ।साथै छिमेकी मुलुकहरूले वैवाहिक अंगीकृत नागरिकताको हकमा लिएको नीतिको तुलनात्मक अध्ययन गरेर र हाम्रो सन्दर्भमा के उपयुक्त हुन्छ भन्ने यकिन गरी सार्वभौम संसद्ले जनतालाई विश्वासमा लिनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।उनले कोही पनि नेपाली नागरिकताबाट वञ्चित हुन नहुने र गैर नागरिकले नागरिकता पाउन नहुने भन्दै भूराजनीतिक बनोट र हाम्रो संवेदनशीलतालाई बुझेर विधेयक फेरि अघि बढाउन सुझाएकी छन् ।