लगातार पाँच दिन घटेको शेयर बजारमा सोमबार उछाल देखिएको छ। सोमबार नेप्से सूचक ५५.८८ अंकले बढेर २०६५.८९ विन्दुमा पुगेको छ। सोमबार नेपाल बैंकर्स सँघले भदौमा पनि मुद्दती निक्षेपमा ब्याजदर नबढाउने निर्णय गरेसँगै शेयर बजारमा त्यसको सकारात्मक प्रभाव देखिएको हो। ६ महिनादेखि स्थिर रहेको ब्याजदर भदौमा पनि नबढ्ने भएको छ।
यस दिन कारोबार रकम पनि बढेको छ। आइतबार २ अर्बभन्दा तलको शेयर कारोबार भएकोमा सोमबार झण्डै साढे २ अर्बको शेयर कारोबार भएको छ। यस दिन २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६११ रुपैयाँ बराबरको ६० लाख २६ हजार १९२ कित्ता शेयर कारोबार भएको छ। सोमबार पनि फाइनान्स, विकास बैंक र हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ। यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ७.३८ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको ५.३२ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक ४.४३ प्रतिशतले बढेको छ।
सोमबार श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टिपर्पस फाइनान्स र राधी विद्युतको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने रिभर फल्स पावरको ९.९९ प्रतिशत र पञ्चकन्या हाइड्रोपावरको ९.९६ प्रतिशतले बढेको छ।यता आजै कारोबार खुलेको रिडि हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले घटेको छ भने गुँरास लघुवित्तको २.७० प्रतिशत र शिवम सिमेन्टको २.१२ प्रतिशतले घटेको छ। सोमबार शिवम सिमेन्टको २१ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल लाइफको १२ करोड ५५ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ४१ लाख र नेपाल दुरसञ्चार कम्पनीको ६ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।












