प्रदीप गिरी ; कम्युनिस्टलाई मार्क्सवाद पढाउने गुरु

प्रकाशित मिति:

काठमाडौं, भदौ ५ – राजनीतिक रुपमा नेपाली कांग्रेसको छत्रछायामा रहे तर जीवनभर उनी मार्क्सवादी अध्ययन, चिन्तन र मननमा रमाए। उनी अर्थात् समाजवादी चिन्तक प्रदीप गिरी। आर्थिक विकासलाई मात्र समाजवाद भन्न सकिँदैनु नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका समाजवादी चिन्तक गिरीले सधैं यसमा जोड दिँदै आए। आर्थिक समृद्धिका लागि जीवित व्यक्तिलाई खुसी बनाउनुपर्ने धारणा विचार थियो उनको।

वामपन्थी राजनीति गर्ने धेरै पार्टी र समूह भए पनि उनीलाई धेरैले आफ्ना गुरुका रुपमा मानेको तथ्य कार्लमार्क्सको द्विशतवार्षिकका अवसरमा आयोजित कार्यक्रममा गिरीलाई प्रमुख प्रशिक्षकका रुपमा गरिएको निमन्त्रणाबाट पनि केही खुल्थ्यो। सन् २०१८ मा मार्क्सवादी अध्ययन समूहले त उनीलाई सल्लाहकार नै राखेको थियो। यस आधारमा स्वर्गीय गिरी मार्क्सवादी अध्येताका रुपमा स्थापित थिए। उनीको जीवनभरको विचार समूह नेपाली कांग्रेस थियो। तर गिरी काल मार्क्स र भिआइ लेनिनको बौद्धिकताप्रति कम्युनिष्टभन्दा बढी काबिल थिए। नेकपा माओवादी केन्द्रका नेता सुरेन्द्र कार्कीको विचारमा खास अर्थमा गिरी मार्क्सवादी थिए।

तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’लाई राजनीतिक मुद्दा भएको र सोही आधारमा समाधानका लागि पहल गर्नुपर्ने धारणा राख्ने मुलुकका थोरै नेतामध्ये एक थिए उनी। जुनसुकै मञ्चमा पनि गिरीले वामपन्थ र मार्क्सवादी आन्दोलनको सकारात्मक पक्षका बारेमा धारणा राख्दै आएका थिए। उनले आफूहरुको आन्दोलनलाई राजनीतिक विषय हो, यो आतङ्ककारी क्रियाकलाप होइन भनेर स्थापित गराउन उत्प्रेरित गर्ने काममा विशेष योगदान गरेको नेता कार्कीको भनाइ छ। दर्शनशास्त्रको अध्ययनमा मेधावी व्यक्तित्व गिरीले बाल्यकालदेखि नै अध्ययन चिन्तनमा कुशाग्रह देखाएको टिप्पणी गर्दै नेता कार्कीले भने, गिरीमा भौतिक सुख भोगभन्दा बढी ज्ञानको भोक थियो।

दिवंगत नेता गिरीको सबैभन्दा अनुकरणीय विषय भनेकै उनी कोही कसैप्रति अन्धभक्त थिएनन्। उनले कैयौं सार्वजनिक कार्यक्रममा समेत सो कुरा स्पष्ट रुपमा बताएका थिए। गिरीले पूर्वीय र पश्चिमा दर्शन, भौतिकतावादी चिन्तन तथा आध्यात्मिक सोचबारे सरल भाषामा सबैले बुझिने गरी बताउनसक्ने क्षमता थियो।पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गिरीलाई समाजवादी चिन्तनका रुपमा लिएका छन्। सानेपास्थित नेपाली कांग्रेको पार्टी कार्यालयमा राखिएको गिरीको पार्थिव शरीरमा माल्यापर्णका क्रममा समेत अध्यक्ष दाहालले गिरीले समाज रुपान्तरणका लागि ठूलो योगदान पुर्‍याएको बताए। उनले भने, बौद्धिक व्यक्तित्वका रुपमा स्थापित गिरी राजनीतिक प्रेरणाको स्रोत थिए।

देशलाई रुपान्तरणकारी ढङ्गबाट अघि बढाउन स्पष्ट दृष्टिकोणका साथ सधैँ आफूलाई उभ्याउँदै आएका गिरीको निधनले असल राजनीतिकज्ञको अभाव खड्किएको अध्यक्ष दाहालको भनाइ छ।नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालका शब्दमा नेता गिरीले आफ्नै पार्टीका अतिरिक्त नेकपा एमाले, नेकपा माओवादी केन्द्रका विरुद्ध पनि चर्को आलोचना गर्नुहुन्थ्यो, असहमति राख्नुहुन्थ्यो। ुविभिन्न विषयमा आफ्ना असहमति राखे पनि आफ्नै दलका पक्षमा उनले मत राख्नुभएको छ। त्यसआधारमा उनी सिद्धान्तभन्दा बाहिर थिए भन्ने लाग्दैनु, सांसद सुवालले भने।गिरीले सोभियत सङ्घका तत्कालीन नेता लेनिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्रलगायतका पुस्तकसमेत लेखेका छन्। यस्तै उनले ‘विश्वेश्वरप्रसाद कोइरालाका आधारभूत सङ्कलन’ नामक पुस्तकको सम्पादन गरेका छन्।विसं २०७६ पुसमा राजधानीमा ‘मार्क्स फर्किए।।।’ नामक नाटक मञ्चन भएको थियो। सो नाटकको प्रदर्शनसँगै कांग्रेसका नेता गिरीलाई नाटकमाथि टिप्पणी गर्न आमन्त्रण गरिएको थियो। त्यसबेला उनले गरेको टिप्पणी थियो, संसारमा जबसम्म असमानता छ, तबसम्म मार्क्स जिवित रहन्छन्। संसारमा जबसम्म बर्बरता छ, तबसम्म मार्क्स जीवित रहन्छन्। आज मार्क्स मरे भन्ने मान्छेले सुन्नुभएको छ भने मरेका मार्क्स आज जीवित मार्क्सभन्दा सयगुना सशक्त भएर आएका छन्। सावधान रहनुहोस्।

लेखक चैतन्य मिश्रको पुस्तक ‘लोकतन्त्र र आजको मार्क्सवाद’को विमोचन गर्दै २०७६ भदौ १४ गते आयोजित समारोहमा गिरीले व्यक्त गरेको धारणाले मार्क्सवादप्रति उनीको लगाव कत्ति थियो भन्ने बुझ्न सकिन्छ।उनले मार्क्सवाद मानवताको दृष्टिकोणले उच्च रहेको छ। पुँजीवादले हार्दै गएको उल्लेख गर्दै उनले सन् १९१७ देखि क्युबाको क्रान्ति सन् १९५९ को समयसम्म पुँजीवादले हार्दै गएको बताए। उनले मार्क्स र लेनिनले भनेका कुरा अहिलेका सन्दर्भमा किन लागू भएन भन्नेबारेमा जवाफ खोज्नुपर्ने बताएका थिए।सिरहाको बस्तीपुरमा जन्मेका गिरीले भारतको बनारस हिन्दु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो। बनारसमा अध्ययन गर्दा छात्र संघको निर्वाचन लड्ने क्रममा नै उनले बिपीको सानिध्य पाएका थिए। संघर्षले नै मानिसलाई स्पात बनाउँछ भन्ने धारणा राख्ने गिरी आफैँमा बौद्धिक एवं मार्क्सवादी व्यक्तित्व थिए।

वामपन्थी लेखक एवं विश्लेषक झलक सुवेदीका विचारमा धेरै कम्युनिष्ट नेताको तुलनामा गिरीको मार्क्सवादप्रति राम्रो दख्खल थियो। उनले मानव स्वतन्त्रताका बारेमा अध्ययन गरेको थियो। लोभ, लालच नभएको र निरन्तर विद्रोह गर्ने स्वभाव भएकाले पनि उनीलाई मार्क्सवादीका रुपमा लिन सकिने विश्लेषक सुवेदीको तर्क छ।चिनियाँ नेता माओ त्से तुङका बारेमा धेरै चासो नराखेपनि मार्क्स र लेनिनबारे राम्रो दख्खल राख्ने विचारकका रुपमा उनी स्थापित थिए। लेनिनबारे नेपाली समाजले बुझ्ने गरी पुस्तक लेख्ने लेखकका रुपमा समेत उनी स्थापित हुनुहुन्छ।लेखक सुवेदीका अनुसार उनी साम्यवादी बाटोमा हुनुहँुदैनथ्यो तर समाजवादी विचारमा प्रतिबद्ध थिए। उनी विचारमा मार्क्स र रोजाबाट तथा जीवन व्यवहार भने लोहिया र जयप्रकाशबाट प्रभावित थिए। सुवेदीले भने, ुउनी भौतिवाद र मार्क्सवादबाट प्रभावित हुँदाहुँदै पनि पनि जीवनशैली पूर्वीय दर्शनबाट प्रभावित थियो। उनी दैनिक जीवनमा आइपर्ने सानातिना धक्काबाट प्रभावित नहुने, विशिष्ट खालको अध्यात्मिक उचाइ प्राप्त गरेको व्यक्तित्व थिए।

निरन्तर विद्रोही एवं आलोचक तथा यथास्थितीवादका कारण समाजमा देखिएका विभेदका विरुद्ध उनले निरन्तर खबरदारी गरिरहे। अग्रगमन तर्फबाट जान रोक्ने, विचार, संस्था र चिन्तनका विरुद्ध उभिने र प्रश्न उठाउने र बहस गरी राख्ने स्वभाव थियो नेता गिरीको।युवालाई निरन्तर क्रान्तिका प्रति उभिन, दलित, महिला, आदिवासी, मधेसीलाई अधिकार प्राप्तिका लागि प्रेरित गर्ने काम पनि उनले गरेका थिए। आफ्नै पार्टी कांग्रेस र अरु पार्टीको परम्परावादी राजनीतिक दृष्टिकोण तथा यथास्थितीवादविरुद्ध उभिने एक खालको साहस विचारक गिरीमा रहेको लेखक सुवेदी स्मरण गर्नुहुन्छ।नेपालको संविधानमा पनि हस्ताक्षर नगरेर उनले यो संविधानले नेपाली समाजको प्रतिबिम्व उतार गरेन भनेर अन्तिम समयसम्म पनि लडिरहनुभयोु, उनले भने।गिरी मार्क्सवादी आँखाबाट हेर्दा साम्यवादप्रति भरोसा नराख्ने र त्यसमा पुग्नुभन्दा अगाडिको मार्क्सवादलाई ग्रहण गर्ने व्यक्तित्वका रुपमा स्थापित थिए। युवा अवस्थामा जेल बसेका बेला लेनिन र रोजाका बारेमा पढेर उनीको जीवनी र शिक्षाका बारेमा सानो पुस्तिका तयार पारे। उनले ‘राज्य र क्रान्ति’ का बारेमा टिप्पणी गर्नुभएको छ। कतिपय कुरामा उनीका असहमति छन् तर धेरै कुरामा सहमति छन्। नेपालमा लेनिनका बारेमा त्यसरी राम्ररी लेखेको किताब आफूले पढ्न नपाएको लेखक सुवेदी बताउनुहुन्छ। मार्क्सका बारेमा पनि उनले लगातार चार वटा आलेख लेखेको थियो। वामपन्थी पार्टी एवं समूहलेसमेत उनीलाई मार्क्सवाद पढाउन पटकपटक बोलाउने गरेका थिए। यसरी नेपाली कांग्रेसका नेताभन्दा बाहिर निस्किएर उनीको चिन्तन मार्क्सवादीहरुको भन्दा अब्बल थियो। त्यसैले उनीलाई मार्क्सवाद पढाउने गुरुभन्दा फरक पर्दैन। रासस