मतदाताले दावी बिरोध गर्ने समय ९ दिन

प्रकाशित मिति:

स्याङ्जा । मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि मतदाता नामावलीलाई बैद्यानीकता (दावी विरोध) का लागि निर्वाचन कार्यालयले ९ दिन समय अवधी दिएको छ । निर्वाचन कार्यालय स्याङ्जाले मतदाता नामावलीलाई बैद्यानिकता दिने उदेश्यले मतदाता नभएका ब्यक्ति वा गैर—मतदाता भए दावी बिरोध गर्न सुचित गरेको छ । निर्वाचनमा : सबै, सधै, सगै भन्ने मुल नाराका साथ जिल्ला सदरमुकाम स्याङ्जामा आयोजना गरिएको मतदाता नामावली अद्यावधिक (दावी विरोध) सम्वन्धी सरोकारवाला सगँ अन्तरक्रिया गरेर सुचित गरेको हो ।

अन्तिम नामावली तयार गर्न निर्वाचन कार्यालय स्याङ्जाले जिल्लाभर आफ्ना कार्यलाई अगाडी बढाएको जानकारी दिएको छ । निर्वाचन कार्यालयद्धारा बुधवार स्याङ्जा सदरमुकाममा आयोजित सरोकारवालीबीचको अन्तरक्रियामा बोल्दै निर्वाचन अधिकारी गुरुप्रसाद मरासिनीले यही भदौ १२ गतेदेखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्न सकिने बताए ।झुटा बिवरण भएका, एक भन्दा वढी स्थानमा नामावली भएका, मृत्यु भैसकेका ब्यक्ति लगायत त्रुटी सच्चाउने र एउटै वडाभित्रका अपायक स्थानमा मतदान केन्द्र भएमा पायक पर्ने स्थानमा सार्न सकिनेगरी दावी बिरोध गर्न ९ दिनको समय रहेको मरासिनीले बताए । यसैगरी, नागरिकता त्याग गरेका र उजुरी परेका मतदातालाई प्रमाण सहित सफाईको मौका समेत मिल्ने उनले सरोकारवालाई जानकारी गराए । दावी बिरोधका लागि जिल्ला निर्वाचन कार्यालयमा जानकारी/उजुरी गर्न र सबै पालिकामा मतदाता नामावली अद्यावधिक गर्न सकिने ब्यवस्था मिलाइएको निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार स्याङ्जामा २ लाख ४८ हजार ३ सय ३३ मतदाता छन । ती मध्ये पुरुषको संख्या १ लाख २० हजार ९ सय ४१ र महिलाको संख्या १ लाख २७ हजार ३ सय ९१ छ । स्थानीय तह निर्वाचनपछि पुरुषतर्फ ४ हजार २ सय ७५ र महिलातर्फ ३ हजार ५ सय २३ गरी ७ हजार ७ सय ९८ जना मतदाता थप भएका छन् । मतदाता नामावलीमा फोटो खिचाएका र मंसीर ३ गतेसम्म १८ बर्ष पुगेका नागरिकले मतदान गर्न पाउने निर्वाचन कार्यालयले जनाएको छ ।

अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जिल्लाको अवस्था र समस्याका बारेमा सुझाव दिए । मतदाता अद्यावधिक गर्ने भनेको मतदान पारदर्शि, स्वच्छ प्रतिष्पर्धा र परिणाममुखी बनाउन भुमिका रहने विश्वास प्रजिअ पौडेलले गरे । नेपाली कांग्रेसका सदस्य सोमनाथ लम्साल, नेकपा एमालेका अमृत श्रेष्ठ, राप्रपाका सचिव श्यामकृष्ण श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र गैह्रे, नेकपा एसका शंकरध्वज कार्की, जय मंगोल अर्गानाइजेशनका सचिव विकास गुरुङ् लगायतले जिज्ञासा र सुझाव ब्यक्त गरेका थिए । अन्तरक्रियामा जिल्ला स्थित राजनीतिक दलहरु, स्थानीय पालिका प्रमुख, उद्योग वाणिज्य संघ, च्याम्बर अफ कमर्श, सुरक्षा प्रमुखहरु, कार्यालय प्रमुख, पत्रकारहरु लगायतको सहभागीता थियो । निर्वाचन कार्यालय स्याङ्जाले निर्वाचनका गतिविधि शुरु गरेसगै अब जिल्लामा चुनावी माहोल बन्न लागेको बताइएको छ ।