प्रधानमन्त्री कार्यालयका कर्मचारीले सर्वसाधारणसँग ‘पावर’ खोजेपछि…

प्रकाशित मिति:

काठमाडौं , १० पुस – आइतबार दिउँसो २ः३० बजे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी एक महिला कर्मचारी मोबाइलमा लुँडो खेलिरहेकी थिइन् । खेलअनुसार उनको अनुहारको हाउभाउ बदलिन्थ्यो । कहिले खुसी हुन्थिन्, कहिले दुःखी । उनको कम्प्युटर ‘अन’ थियो। तर, उनी कम्प्युटरमा काम गरिरहेकी थिइनन् । कुर्सीमा उपरखुट्टी लगाएर बसिरहेकी थिइन् । टाउको मोबाइलतिर झुकाएकी थिइन् । बिना कुनै प्रतिक्रिया, बिना कुनै हलचल, बिना कुनै काम सिंहदरबारको पुस्तकालयमा बसी घन्टौं लुँडो खेलिरहिन् ।

प्रधानमन्त्री कार्यालयकै प्रशासन शाखाका कर्मचारीलाई सोधियो, ‘सर हुनुहुन्छः कर्मचारीले तलदेखि माथिसम्म प्रश्नकर्ताको हुलिया नियाले । त्यसपछि रुखो स्वरमा जवाफ दिए, ‘को हो तपाईंरु ’ उनको प्रश्न सातो लिने खालको थियो ।विनम्र भएर फेरि सोधियो, ‘म विद्यार्थी हुँ। मलाई प्रधानमन्त्रीले गर्नुभएको कामको विवरण चाहिएको थियो ।’ उनले फेरि तलदेखि माथिसम्म हेरे । ‘प्रकाशित भएको छैन। प्रकाशित भएपछि अनलाइनमा हेर्नू ।’ यति भनेर उनी कुर्सीबाट उठेर बाहिर गए ।‘को हो तपाईं ? यो शब्दले खल्लो बनायो। देश चलाउने मुख्य स्थानमा बस्ने कर्मचारीको भाषाले दुखित् बनायो । दोस्रो तलाको अर्को शाखामा सोधियो, ‘सर हुनुहुन्छ ? ’ हिटर तापिरहेकी महिला कर्मचारीले पनि तलदेखि माथिसम्म हेरिन् ।आँखा ठूलो पार्दै भनिन्, ‘तपाईं उहाँको को हो ? ’ हकार्ने शैलीमा भनिन् । ‘उहाँको म कोही पनि होइन । सामान्य नागरिक हुँ । किन उहाँलाई भेट्न उहाँको कोही हुनुपर्छ र ?’ उत्तर आएपछि उनी एकछिन् चुप लागिन् । बोलिनन् । ‘भेट्न समय लिनुभएको छ ? ’ अलिक नम्र भएर सोधिन्। अनि अनकनाउँदै नाम टिप्न थालिन् । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजु स्याङ्तान, किरण दहाल र सपना महर्जनले लेखेका छन् ।
पुस्तकालयमा एक जना पाठक
प्रधानमन्त्री कार्यालयभित्र एउटा पुस्तकालय छ । तर, कोही जाँदैनन्। कार्यकर्ता प्रांगणमा घाम ताप्दै बस्छन् । कर्मचारी हिटरमा आगो ताप्दै बस्छन् । ग्राउन्डफ्लोरमा रहेको पुस्तकालयमा एक जना मात्रै पाठक थिए । उनी पत्रिका पल्टाइरहेका थिए ।
ढोकामाथि टाँसिएको छ – पुस्तकालयभित्र कृपया मोबाइलमा कुरा नगरिदिनुहोला । तर, लाइब्रेरीकी कर्मचारी आफैं फोनमा लामो कुरा गरिरहेकी थिइन्। टेबलमाथि पत्रपत्रिका छरिएका थिए । दराजमा थन्क्याएर राखिएका छन् पुस्तकहरू । ती पुस्तक वर्षौंदेखि कसैले नपढेका जस्ता देखिन्थे । फोनमा बोलिसकेपछि महिला कर्मचारीले भनिन्, ‘यहाँ प्रधानमन्त्री आएर कहिल्यै पढ्नुभएको थाहा छैन । कुनै किताब आवश्यक पर्‍यो भने किनेर लगिदिन्छौं ।’पुस्तकालयको ढोकाबाहिरै दराजमा थन्किएका छन् केही पुस्तक । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा भएको कामका विवरण मोटो पुस्तकमा प्रकाशित छ । उक्त पुस्तक पनि पुस्तकालयबाहिरै छ । विद्यादेवी भण्डारीले गरेका भाषणका अंश अंग्रेजी र नेपाली दुवै भर्सनमा प्रकाशित छन् ।ती किताब पनि दराजमा अटेका छैनन् । भुइँमा असरल्ल छन् । माधवकुमार नेपालको मन्तव्य भाग– ३ र झलनाथ खनालका मन्तव्यहरू दराजमा बन्द छन् । राष्ट्रिय मानव अधिकारका सिफारिसहरू कार्यान्वयनको स्थितिदेखि भ्रष्टाचारविरुद्ध संयुक्त राष्टसंघीय महासन्धि कार्यान्वयनसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्यान्वयन पनि दराजमा बन्द छ ।कार्यालयभित्र कर्मचारी एकै ठाउँमा जम्मा भई हिटर तापिरहेका थिए । कुनै कोठामा कर्मचारी मोबाइल चलाइरहेका थिए । फाइल बोकेका कर्मचारी यताउति दौडिरहेका थिए । बैठक कक्ष नजिकै शौचालय छ । त्यहाँ दुईवटा धारा छन्। तर, एउटामा पानी आउँदैन ।शौचालयमा ‘अटोमेटिक ह्यान्ड ड्रायर’ छ । तर, हावा आउँदैन । कार्यालयभित्र कहीँ पनि अपांगमैत्री शौचालय छैन् । प्रधानमन्त्री कार्यालयको ढोका र तला तलामा टाँसिएको छ शपथ ग्रहणको अंश । जहाँ लेखिएको छ९म भ्रष्टाचार गर्दिनँ । म भ्रष्टचार हुन दिन्नँ । म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु ।
थोत्रा गाडीको ‘डम्पिङ साइट’
प्रधानमन्त्री कार्यालयअगाडि फुच्चे धरहरा राखिएको छ । गाडीहरू पछाडि पार्किङ गरिएका छन् । अन्य मन्त्रालयभन्दा त्यहाँ परिसर खाली देखिन्छ । तर, प्रायस् सम्पूर्ण मन्त्रालयको वरपर प्राडो, पजेरोको भीड देखिन्छ । गाडीहरू जथाभावी पार्किङ गरिएका छन् । सिंहदरबारभित्र प्रत्येक मन्त्रालयवरिपरि थोत्रा गाडी बगे्रल्ती छन् ।
अव्यवस्थित पार्किङ
पुराना गाडीले ठाउँ ओगटेपछि नयाँ गाडी पार्किङ गर्न सकस भइरहेको देखिन्छ । ठाउँ–ठाउँमा बोर्ड टाँसेर फुटपाथमा पार्किङ नगरिदिनुहोला भन्दै सूचना जारी गरिएको छ । तर, नेताका गाडीले नियम मिचेका छन् । दिउँसो १ बजे । कृषि तथा पशुपक्षी विकास मन्त्रालय परिसरमा नेताहरूका नयाँ ब्रान्डका गाडी आएर रोकिए । पार्किङ गर्ने ठाउँ थिएन । सूचनाको धज्जी उडाउँदै मान्छे हिँड्न बनाइएको सडकपेटी ढाकेर नेताका गाडी पार्किङ गरियो । काम लिएर सिंहदरबार छिरेका एक पैदलयात्री भन्दै थिए, ‘सडकमा मन्त्रीको गाडीको लावालस्कर छ । फुटपाथमा पनि पार्किङ गर्‍या छ ।’