युक्रेनलाई सहयोगका लागि छलफल

प्रकाशित मिति:

किभ, कात्तिक ९ – युक्रेनका लागि आवश्यक रहेको आर्थिकलगायतको सहयोग गर्ने विषयमा छलफल भएको छ। युक्रेनका प्रधानमन्त्री डेनिस साइहाल र अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जियाभाकाबीचमा आवश्यक छलफल भएको हो।
युक्रेन र आइएमएफका बीचमा हुनसक्ने थप र नयाँ सहयोगका क्षेत्रका विषयमा उहाँहरुका बीचमा कुराकानी भएको बताइएको छ। युक्रेनका प्रधानमन्त्रीको सचिवालयले मङ्गलबार सो कुराको जानकारी गरएको हो। प्रधानमन्त्री साइहालले आगामी सन् २०२३ मा युक्रेनमा आइएमएफको नयाँ आयोजना सुरु हुने बताएका थिए।

जर्मनीको बर्लिनमा मङ्गलबार भएको सो छलफलका क्रममा उहाँले युक्रेनलाई थप सहयोग आवश्यक रहेको बताएका थिए। यस क्रममा आइएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिनाले पनि युक्रेनका लागि सहयोग निरन्तर रहेको र आगामी वर्ष नयाँ कार्यक्रमका साथ अघि बढिने बताउनुभएको थियो।यस वर्षमात्र युक्रेनले आइएमएफबाट दुई अर्ब सात करोड अमेरिकी डलर सहयोग प्राप्त गरेको थियो। सो सहयोगलाई निरन्तर गर्दै आगामी वर्षका लागि नयाँ कार्यक्रमका साथ आयोजनाहरु ल्याइने आइएमएफले जनाएको छ। युक्रेनमाथि रुसले हमला गरेपछि यहाँको अर्थतन्त्र नाजुक बनेको छ। साथै यहाँका कतिपय भौतिक संरचनाको पुनर्निमाणका क्षेत्रमा पनि युक्रेनलाई सहयोग आवश्यक रहेको छ।