कञ्चनपुर, कात्तिक १० -कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका भरतबहादुर रावल राजनीतिमा होमिएका लामो समय भइसकेको छ । राजनीतिसँगै व्यापारमा पनि उत्तिकै सक्रिय रावलको दैनिकी चुनाव नजिकिएपछि भने फेरिएको छ । हरेक दिन बिहान र साँझ चुनावी प्रचारप्रसारमा व्यस्त रहने उनी दिउँसो भने व्यापार सम्हाल्छन्। रावलले पछिल्लो एक दशकदेखि व्यापार र राजनीतिलाई एकै साथ अगाडि बढाइरहेका छन्।
आगामी मङ्सिर ४ मा हुन लागेको प्रदेशसभाको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २- १ बाट उम्मेदवार छन्।रावलको जीवन जति सामान्य छ त्यति नै सामान्य उहाँको चुनावी प्रचारप्रसार शैली पनि छ । उनी एक्लै मोटरसाइकलमा चुनाव चिह्न अङ्कित झन्डा फहराउँदै बस्ती–बस्तीमा पुग्छन्, प्रत्येक घरमा चुनावी मुद्दा सुनाउँदै मत माग्छन्।चुनाव आयो भन्दैमा व्यापार नगर्ने हो भने घर चलाउनै गाह्रो हुन्छु, रावलले भने, यही व्यापार चलेकै कारण परिवारको खर्च धान्न पुगेको छ ।
मसँग चुनावमा खर्च गर्ने धेरै पुँजी छैन र पार्टीको नीति पनि त्यस्तो होइनु, रावलले भने, मोटरसाइकलको इन्धनको पैसा आफै जोहो गरेको छु भने पर्चा छपाइमा पार्टीले खर्च गरेको छ ।वर्षौदेखि सामान्य व्यापारमा संलग्न उहाँ राजनीतिमार्फत् गरिबी न्यूनीकरण गर्न सकिनेमा विश्वस्त छन्।म आफै पनि निकै सङ्घर्ष गरेकाले गरिबी बुझेको छु, जीवनमा आइपर्ने पीडा पनि भोगेको छुु, उनले भने, मैले पाएको दुःख अरुले नपाउन् भन्ने इच्छा भएकाले राजनीतिमा होमिएको हुँ ।रावलका प्रतिस्पर्धीमा नेपकपा माओवादी केन्द्रका ओमविक्रम भाट, एमालेका बचनबहादुर सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रकान्त भण्डारी, लोसपा नेपालका जगन्नाथ केसी, नागरिक उन्मुक्ति पार्टीका गीता चौधरी र स्वतन्त्र उम्मेदवार टेकबहादुर हमाल छन्।












