गगनलाई प्रधानमन्त्री बनाएर आफू राष्ट्रपति बन्न देउवालाई धेरैको सुझाव

प्रकाशित मिति:

काठमाडौँ । नेपाली काँग्रेस भित्र नयाँ संसद गठन भएपछि सभापति शेरबहादुर देउवालाई राष्ट्रपति र महामन्त्री गगन थापालाई प्रधानमन्त्री बनाउनु पर्ने दवाव बढेको छ । संविधानको रक्षाका लागि राष्ट्रपतिमा काँग्रेसकै नेता हुनुपर्ने अडान काँग्रेसका नेताहरुमा जवरजस्त देखिएको छ भने माओवादी, नेकपा समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीलाई क्रमशः उपराष्ट्रपति, सभामुख र उपसभामुख दिएर भागबण्डा मिलाउन सकिने कार्यकर्ताहरुको भनाई छ । पछिल्लो दुई बर्ष माओवादी अध्यक्ष प्रचण्ड र एक बर्ष नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन काँग्रेस तयार भए उनीहरु पनि सहमत हुने देखिएको छ ।

काँग्रेसले राष्ट्रपति बनाउनु पर्दा संविधान रक्षा गर्ने र राष्ट्रको नेतृत्व गर्ने सबैभन्दा बलियो र उपयुक्त पात्र सभापति देउवा नै भएको उनीहरुको तर्क छ । देउवालाई राष्ट्रपति बनाउदा उहाँको सम्मानजनक निकास हुने र देउवा, देश र संविधानका लागि फाईदा हुने जनमत जवरजस्त विस्तार हुदै गएको छ ।उनीहरु भन्छन, “कांग्रेसले अब राष्ट्रपति छोड्नु हुन्न, संसदले पठाएको बिधेयकलाई दोस्रो पटक समेत रोकेर राष्ट्रपतिद्वारा संसदको अधिकार खोसिएको तितो अनुभव छ,्र संसदको मानमर्दनले संसदिय लोकतन्त्र बलियो हुन सक्दैन, राष्ट्रपति, संसद र न्यायालयको समन्वय जरुरी छ, अझ राष्ट्रपतिले अभिभावकको भूमिका खेलेर संसद, सरकार र न्यायालयलाई मिलाउनुपर्छ, त्यसरी नेतृत्वदायी र समन्यवकारी भूमिका खेल्न सक्ने, उमेर र अनुभवको हिसाबले देउवा नै उपयुक्त पात्र हुन ।”

माओवादी र कांग्रेस मात्रै हैन एमाले र राप्रपा समेतका लागि उनी स्विकार्य पात्र हुन सक्छन, प्रियरन्जन दाहालको दावी छ । “देउवाका लागि आफ्नै पक्षका सहयोगीलाई पार्टी भित्र बलियो बनाउने र नेतृत्व बिकासको लागि समयमै अवसर दिने यो भन्दा उपयुक्त र सुनौलो अवसर देखिदैन,” उहाँले लेख्नु भएको छ ।देउवा राष्ट्रपति बन्नेभएपछि महामन्त्री थापालाई प्रधानमन्त्री बनाउने गरी संसदीय दलको नेतामा निर्वाचित गराउने, उपसभापति पूर्ण बहादुर खड्कालाई कार्यबाहक सभापति बनाउने गरी देश र काँग्रेसमा पुस्तान्तरण हुने र सबै तिर आशा जाग्ने धेरैको बुझाई छ ।थापाको नेतृत्वमा बन्ने सरकारमा देउवा पत्नी आरजु राणा देउवालाई उपप्रधान तथा परराष्ट्र मन्त्री बनाएर मिलाउन पनि पार्टीका धेरै नेता तथा कार्यकर्ताहरुले पनि सुझाव दिएका छन् । कुटनीतिक मामिलामा भने राम्रो भूमिका खेल्दै आएकी राणालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी उपयुक्त हुने उनीहरुको भनाई छ ।

देउवा प्रधानमन्त्री हुँदा राणा मन्त्री बन्न नमिल्ने भएकाले देउवालाई राष्ट्रपति र गगनलाई प्रधानमन्त्री बनाएपछि राणालाई उपप्रधान मन्त्री बन्न मिल्ने र सबैलाई “विन विन” हुने भएकाले अन्तिममा काँग्रेस भित्र यही अनुसार सहमती हुने निकटस्थहरुको दावी छ । थापा नेतृत्वको सरकारमा काँग्रेसबाट स्वर्णिम वाग्ले अर्थमन्त्री, डा चन्द्र भण्डारी शिक्षा वा कृषि मन्त्री, माओवादीबाट बर्षमान पुन गृह मन्त्री, स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने श्रम तथा रोजगार मन्त्री बनाउनु पर्ने सुझाव र चाहना धेरैतिरबाट व्यक्त भएको छ ।