प्रदेशसभामा दुई विधेयक पेश

प्रकाशित मिति:

बुटवल, १० पुस । प्रदेश नं ५ को प्रदेशसभामा आज दुई विधेयक पेश भएका छन । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले प्रदेश नं ५ सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्नुभएको हो । यसअघि प्रदेश नं ५ प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र जिल्लासभा तथा समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रस्तुत गर्नुभएको थियो ।

प्रदेश नं ५ प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्य दधिराम न्यौपानेले प्राकृतिक र गैरप्राकृतिक प्रकोपबारे स्पष्ट गर्न आग्रह गर्दै कस्तो विषयमा कोषको सदुपयोग गर्ने जानकारी आवश्यक छ भन्नुभयो ।

प्रदेशसभा सदस्य विष्णु पन्थीले विपद्मा परेका जनतालाई राहत दिन कोष प्रभावकारी हुने विश्वास व्यक्त गर्दै यसको सदुपयोग हुन सके सरकारका लागि जनतामा पुग्न स्वर्णिम अवसर भएको बताउनुभयो ।

विधेयकमा उठेका प्रश्नको जवाफ दिँदै कानूनमन्त्री केसीले सरकार गठन भएपछि आगलागी भएका परिवारलाई रु एक लाखका दरले क्षतिपूर्ति दिएको जानकारी दिनुभयो । यसअघि विशेष समयमा प्रदेशसभाका सदस्य कृष्णध्वज खडकाले अन्तरप्रदेश समन्वय बैठकमा भएका छलफलबारे सदनलाई जानकारी गराउन सरकारसँग आग्रह गर्दैै तुल्सीपुर दुर्घटनामा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति दिन माग गर्नुभयो । सदस्य अष्टभुजा पाठकले मधेशका नागरिक अहिले पनि नागरिकता पाउनबाट वञ्चित भएको बताउनुभयो । अर्का सदस्य सन्तोषकुमार पाण्डेले विकासका काम द्रुत गतिमा अघि बढ्न नसेकेको गुनासो गर्नुभयो ।