काठमाडौं, पुस १९ : जनमत पार्टीले पार्टीबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरूसँग छ महिनाको कार्यप्रगति विवरण मागेको छ । आज पार्टीका राष्ट्रिय अध्यक्ष एवं सांसद सिके राउतले पत्र लेख्दै जनमतबाट निर्वाचित स्थानीय जनप्रतिनिधिसँग छ महिनाको कार्यकाल पूरा गर्दा आफूले गरेको कार्यसम्पादनको प्रतिवेदन सात दिनभित्र केन्द्रीय सचिवालयलाई पठाउन निर्देशन दिएका हुन् । स्थानीय तहको निर्वाचनमा जनमत पार्टी सप्तरीका हनुमाननगर कङ्कालिनी नगरपालिकामा दुई वडासहित प्रमुख र बलान बिहुल गाउँपालिकामा दुई वडासहित अध्यक्ष तथा उपाध्यक्ष पदमा विजयी भएको छ ।
त्यस्तै अध्यक्ष राउतको गृहपालिका महादेवा गाउँपालिकाको एउटा वडामा जनमत विजयी भएको हो । देशभरिमा जनमतले कूल १९ वटा वडामा अध्यक्ष पद जितेको छ ।अध्यक्ष राउतको पत्रमा भनिएको छ, “जनमत पार्टीको अवधारणा लागू गर्न के–कस्ता कार्यक्रमहरू सञ्चालनमा ल्याए, जनसरोकारका विषयहरूलाई सम्बोधन गर्न के–कस्तो पहल गरे ? जनमत पार्टीको स्थानीय समिति र कार्यकर्तासँग समन्वय कस्तो रह्यो आदि विवरण प्रतिवेदनमा समावेश गर्नुहुन अनुरोध छ ।त्यस्तै अध्यक्ष राउतले पार्टीको वडा र पालिका समितिलाई पनि पत्र लेख्दै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यमूल्याङ्कनबारे प्रतिवेदन पठाउन निर्देशन दिएका छन् ।












