पुस १३, काठमाडौं — क्रिसमसको छुट्टीमा इराकस्थित अमेरिकी सैनिकहरूसँग भेटघाट गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ट्विटरमा नेभी सीलहरूसँगको भिडियो पोस्ट गरेका छन् । भिडियोका कारण अमेरिकाको विशेष सैन्य बलको ठेगाना उजागर भएको छ । त्यसलाई प्रायः सुरक्षित राख्ने गरिन्छ । ट्रम्पको भिडियोमा उनी सील टीम फाइभका सदस्यसँग देखिन्छन् । उनीहरूको अनुहार छोपिएको वा धमिलो बनाइएको पनि छैन, न्युजवीक पत्रिकाले लेख्यो ।रक्षा मन्त्रालयका अधिकारीहरूले पत्रिकालाई बताएअनुसार, सील टोलीहरू कहाँ तैनाथ गरिएका हुन्छन् भन्ने कुरा जहिले पनि गोप्य राखिन्छ । कमान्डर इन चीफका रूपमा ट्रम्पले सूचना प्रकाशन गर्ने अधिकार राख्छन् तर विशेष सैन्य
बलका सदस्यहरूको पहिचान लुकाउनका लागि उनीहरूको अनुहार आधिकारिक तस्वीर र भिडियोमा लुकाइन्छ ।
ट्रम्प क्रिसमसको भोलिपल्ट इराक पुगेका थिए । विदेशमा रहेका अमेरिकी सैनिकहरूलाई भेट्न नगएको भनी आलोचना भएपछि उनी त्यहाँ पुगेका थिए । उनको भ्रमण गोप्य राखिएको थियो । उनीसँग गएका पत्रकारहरूले करीब सयजना सैनिकलाई ट्रम्पले सम्बोधन नगरेसम्म उनको भ्रमणका बारेमा केही प्रकाशन नगर्ने सहमति जनाएका थिए । ट्रम्पको विमान एयर फोर्स वन इराकी हवाईक्षेत्रबाट बाहिरिएपछि उनले आफ्नो ट्विटर अकाउन्टबाट भिडियो पोस्ट गरेका थिए । भिडियोमा उनी प्रथम महिला मेलानिया ट्रम्पका साथ सील टीम फाइभका सदस्यहरूसँग उभिएका देखिन्छन् । उनले बूढी औंला ठड्याएका छन् । त्यसपछि उनले सैनिकहरूसँग हात मिलाएको देखिन्छ । उनीहरूले युद्धका बेलामा
लगाउने कपडा, हेल्मेट र नाइट भिजन गगल लगाएको देखिन्छ । अमेरिकाका पूर्व नेभी जासूसी विशेषज्ञ माल्कम न्यान्सले यो भिडियोले प्रोटोकोल तोडेको बताए । युद्धक्षेत्रमा विशेष सैन्य सदस्यहरूको पहिचान प्रायः लुकाउने गरिन्छ ।
.@FLOTUS Melania and I were honored to visit our incredible troops at Al Asad Air Base in Iraq. GOD BLESS THE U.S.A.! pic.twitter.com/rDlhITDvm1
— Donald J. Trump (@realDonaldTrump) December 26, 2018












