नेपालमा अब कोही पनि गरिब नहुने : प्रधानमन्त्री ओली

सरकारले अधिनायकवाद ल्याउंछ भनेर जनतालाई आंतकित पार्नु र बालबालिकालाई भूत आयो भनेर तर्साउनु उस्तै हो

प्रकाशित मिति:

काठमाडौ \ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कोही पनि गरिब नहुने बताउनुभएको छ । संयुक्त ट्रड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अब कोही पनि गरिब नहुने बताउनुभएको हो । नेपालमा श्रमजीवी जनताको हित गर्ने सरकार भएकोले उनीहरुको वृति विकास र आर्थिक स्थिति सुधार गर्नका लागि सधैं सकारात्मक रहने उहाँको भनाइ छ । सरकारले हालै घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले धेरै श्रमिकहरुलाई गरिबीबाट मुक्त गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “हामीले मजदुरको मात्र होइन उद्योगीहरुको पनि हित हुने गरी कार्यक्रम ल्याएका छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो मजदुर र मालिक दुबै पक्षलाई सहमत गराएर ल्याएको सामाजिक सुरक्षा कार्यक्रम धेरैका लागि नौलो विषय हो । प्रधानमन्त्री ओलीले सरकारले धनीलाई थप धनी हुनबाट रोक्ने नभइ गरिबलाई धनी बनाउने बताउनुभयो ।

सामाजिक समानताका आधारमा गरिबलाई पनि खान लाउन र दैनिक जीवन सहजले धान्न पुग्ने गरीका कार्यक्रमहरु ल्याउछौं प्रधानमन्त्री ओलीले भन्नुभयो सामजिक विभेद हटाउन धेरै समय नलागे पनि सामाजिक समानताका लागि अलिकति समय लाग्छ । तर हामी त्यो अवस्थामा पुग्छौं । प्रधानमन्त्री ओलीले शितलहरबाट तराईमा हुने मृत्युलाई रोक्न सरकार प्रतिबद्ध भएको बताउनुभयो । शितलहरबाट जोगाउनका लागि सुरक्षा निकाय, स्थानीय तह प्रशासन, निजी क्षेत्र सबैसँग समन्वय गरिएको छ प्रधानमन्त्री ओलीले भन्नुभयो यस वर्ष देखि जाडोले कठाङ्ग्रिएर कसैले मर्नु पर्दैन । प्रधानमन्त्री ओलीले सरकारले अधिनायकवाद ल्याउँछ भनेर जनतालाई त्रसित पार्न खोजेको बताउनुभयो । आधा शताब्वदी भन्दा लोकतन्त्रका लागि आफूले योगदान गरेको स्मरण गराउंदै प्रधानमन्त्री ओलीले अधिनायकवादको हल्ला पिटेर जनतालाई आतंकित नपार्न सचेत गराउनुभएको छ । सरकारले अधिनायकवाद ल्याउंछ भनेर जनतालाई आंतकित पार्नु र बालबालिकालाई भूत आयो भनेर तर्साउनु उस्तै हो प्रधानमन्त्री ओलीले भन्नुभयो ।