काठमाडौं, असोज – एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टिमको बिदाई गरिएको छ। क्यानले आइतबार बिहान एक कार्यक्रम गर्दै रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिमलाई बिदाई गरेको हो। नेपाली टिमलाई क्यानका नवनिर्वाचित अध्यक्ष चुतरबहादुर चन्द, सविच पारस खड्का लगायतले विदाई गरेका थिए। एसियन गेम्समा नेपालले समूह चरणमा कमजोर मानिएका मंगोलिर र माल्दिभ्ससँग खेल्नेछ। नेपालले सेप्टेम्बर २७मा मंगोलिया र अक्टोबर १मा माल्दिभ्ससँग खेल्ने छ।
समूह चरण पारे नेपालले भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धा गर्न पाउनेछ। टेस्टमान्यता प्राप्य यी देश यू–२३ पठाएका छन्। खेलाडीहरुलाई बिदाइ गर्दै अध्यक्ष चन्दले आगामी दिनमा सबैले देख्नेगरी मनोबल कमजोर नहुनेगरी आफूहरु लाग्ने बताए। उनले नयाँ कार्यसमितिले खेलाडीको हौसला बढाउने गरी काम गर्ने प्रतिवद्धता जनाए । उनले नेपालले एसियाडमा हुने क्रिकेटमा मेडल जित्ने उच्च सम्भावना रहेको बताए ।
यस्तै, सचिव पारस खड्काले नेपाली क्रिकेटको नयाँ युगको सुरुवात गर्ने प्रयासमा आफूहरु रहेको बताए। उनले कुनैपनि खेललाई सहज तरिकाबाट नलिन आग्रह गर्दै खेलले देश र जनतालाई एक ठाउँमा ल्याउने ठूलो भूमिका खेलेको बताए।बिदाइ कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राम्रो अभ्यास गरेको र मेडल जित्ने लक्ष्य आफूहरुको रहेको बताए। उनले मेडल हात पार्नका लागि सबै खेलाडी तयार रहेको बताए। नेपाली टिम विनोद भण्डारी, आसिफ सेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी र अविनाश बोहरा, सन्दीप लामिछाने र सागर ढकाल।












