१६ पुस, काठमाडौं । तपाईँ नयाँ वर्षमा स्वास्थ्यबारे सोचिरहनुभएको छ भने, धेरै चिन्ता नलिनस् । दैनिक जीवनका आफ्ना गतिविधिमा ख्याल गर्नुस् त्यसले स्वास्थ्य सुधारका लागि महत्वपूर्ण भूमिका खेल्नेछ । योग गर्नुस्, दौडनुस्, कार्बोहाइड्रेट अथवा चिल्लो कम गर्नुस्, अत्यधिक मदिरा सेवन छोड्नुस् र तनाव कम लिनुस् । तर तपाईँले एउटा मात्रै परिवर्तन गर्नुप-यो भने ?
हामीले यसबारे विज्ञलाई सोधेका छौं– यो सोचेर की यदि वयस्क जो चुरोट पिउँदैन र अन्यथा स्वस्थ छ भने विज्ञहरूले त्यस्ता मानिसलाई स्वास्थ्य सुधारका लागि के गर्न सुझाव दिन्छन् ।
ध्यान केन्द्रित गर्नुस्
शारीरिक स्वास्थ्यबारे मात्रै सोच्न सजिलो छ ।
तर युनिभर्सिटी अफ एक्सेटरका खेल र व्यायाम विज्ञानकी एकजना प्राध्यापक डाक्टर नदिन स्यामीका अनुसार हामीले स्वचेतना जगाएर मानसिक स्वास्थ्य सुधारमा ध्यान दिनुपर्छ।
तपाईँलाई लाग्न सक्छ कि यो यस्तो विषय हो जसले हामीलाई आफैँलाई लज्जित बनाउनबाट जोगाउँछ तर डाक्टर स्यामीका अनुसार मस्तिष्क सुधारमा ध्यान दिनु भनेको त्यो भन्दा बढी हो ।
स्वचेतना भनेको आफ्नो भावना र मनस्थितिलाई बुझ्नु र त्यसको पहिचान गर्ने क्षमता हो।
त्यस्तो क्षमता विकास गर्नुले मानसिक र शारीरिक स्वास्थ्यलाई समयसँगै सुधार गर्छ ।
‘आफ्नो भावनाहरू, आफूलाई प्रेरित गर्ने कुराहरू र आफ्नो आचरणलाई गहिरो गरी बुझ्दा तपाईँ आफ्ना लागि उचित अवसरहरूका लागि थप सजगतासहित काम गर्न थाल्नुहुन्छ,’ उनले भनिन् ।
‘एकैछिनका लागि मानौं, व्यायाम गर्न तपाईँलाई के ले प्रेरित गर्छ ? तपाईँ कतिबेला धेरै व्यायम गर्न खोज्नुहुन्छ र कतिबेला थोरै र किन?’
उनका अनुसार त्यसो गर्ने थुप्रै तरिकाहरू छन् । त्यसबारे जर्नलमा लेख्न सक्नुहुन्छ, ध्यान गर्न सक्नुहुन्छ, स्वचेतना जगाउने अभ्यास गर्न सक्नुहुन्छ वा कुनै पनि गतिविधिपछि त्यसबारे दिनको अन्त्यमा आफैँलाई नियाल्न सक्नुहुन्छ ।
‘आफैँलाई राम्रोसँग बुझ्नुले हामीलाई हाम्रो सबल र दुर्बल पक्षबारे विचार गर्न मद्दत गर्छ र त्यसले हामीलाई आफैँमा उत्कृष्ट बनाउन प्रेरित गर्छ।’
व्यायमका लागि कुनै जिमको सदस्यता, बिहानीको दौड अथवा कुनै पनि वजन घटाउने अभ्यास, शारीरिक रुपमा थप सक्रिय बन्नका लागि हाम्रो दिमागमा यी सबै विषयहरू आउन सक्छन् ।
तर व्यायामका लागि जिममा जाने कुरा हामी केहीमा लागू हुनसक्छ, धेरैले चाहिँ एक वा दुई महिनामा त्यो छोड्ने गरेको एबरिस्टविथ युनिभर्सिटीका डाक्टर रिस थ्याचरले बताए ।
त्यसको सट्टा, उनी हाम्रो दैनिक जीवनमा नियमित व्यायाम गर्ने माध्यमहरू खोज्न सुझाउँछन् ।
त्यसो गर्ने थुप्रै तरिकाहरू छन्
जस्तो कि अफिसमा लिफ्टको प्रयोग नगर्ने, सुपरमार्केटमा सामान किन्न जाँदा अलि टाढा कार पार्क गर्ने । उनका अनुसार कुकुरलाई पाल्नुका खास फाइदाहरू छन् ।
कुकुर पाल्दा भावनात्मक फाइदाका साथसाथै दिनमा दुईपटक आधा आधा घण्टा कुकुरलाई लिएर हिँड्न निस्कने हो भने त्यसले पनि तपाईँको क्रियाकलाप बढाइरहेको हुन्छ ।
डाक्टर थ्याचर भन्छन,‘यसो गर्दा तपाईँले घरबाहिर धेरै समय बिताउन पाउनुहुन्छ, व्यायाम गर्न पाउनुहुन्छ, एउटा बफादार साथ पाउनुहुन्छ र सँगसँगै तपाईँले अर्को प्राणीको जीवन सुधार गरिरहनुभएको हुन्छ । यी सबैले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउने देखाएका छन् ।’
खानेकुरामा विविधता
हामी सबैले सुनेका छौं हामीले खाने खानामा फलफूल र तरकारीको मात्रा धेरै हुनुपर्छ ।
तर लण्डनस्थित किङ्गस् कलेजको पोषण विज्ञान विभागका अनुसन्धानकर्ता डाक्टर मेगन रोसीका अनुसार हामीले खानेकुराको मात्रा मात्रै होइन विविधताबारे पनि ध्यान दिनुपर्छ ।
उनले भनिन, हामीले प्रति हप्ता ३० विभिन्न प्रकारका वनस्पतिमा आधारित खानेकुराहरू खाने लक्ष्य राख्नुपर्छ ।
राम्रो स्वास्थ्यका लागि वनस्पतिजन्य खानेकुराको विविधताको महत्वपूर्ण भूमिका हुने उनी बताउँछिन् ।
हाम्रो पेटमा हुने केही प्रकारका ब्याक्टेरिया जिवाणुको हाम्रो स्वास्थ्यमा निकै गहन भूमिका हुन्छ । आवश्यक जीवाणुसहित पेटलाई स्वस्थ राख्न यस्ता खानेकुरा महत्वपूर्ण हुन्छन् ।
हाम्रो पेटमा भएका जिवाणुहरू कुनै पनि किसिमको एलर्जी, मोटोपना, पार्किन्सन र उदासीसम्बन्धी रोगसँग समेत सम्बन्धित हुन्छन् ।
उनले भनिन,‘चनामात्रै किन्नुभन्दा चार थरीका गेडागुडी किन्नु ठिक हुन्छ । एकप्रकारको मात्रै गेडागुडी किन्नुभन्दा चार थरी मिसिएको गेडागुडी किन्नु राम्रो हुन्छ ।’
धेरै हाँस्नुस्
डाक्टर जेम्स गिल बिदाको मौसम सुरु भएपछि धेरै जिम जान वा अन्य प्रयास गर्न भन्दा धेरै खुसी हुने तर्फ ध्यान दिन सुझाउँछन् । ‘तपाईँको जीवन स्वस्थ राख्न तपाईँ धेरै खालका कामहरू गर्न सक्नुहुन्छ । तर तपाईँ आफ्नो जीवनमा रमाउनुभएको छैन भने तपाईँ आउँदो वर्ष थप कठिन र चुनौतीपूर्ण काम गर्न सायद तयार हुनुहुन्न,’ वारविक मेडिकल स्कूलका अनुसन्धानकर्ता डाक्टर गिलले भने ।
तर तपाईँ कसरी खुशी बस्न सक्नुहुन्छ ?डाक्टर गिल तपाईँलाई खुसी बनाउने एउटा परिवर्तन जीवनमा गर्न सुझाउँछन् ।
र, सँगै तपाईँलाई दुःखी बनाउने कुरा पनि पहिचान गर्न र त्यसको सुधारका लागि केही गर्न कोशिश गर्न भन्छन् ।
दुवैलाई एकै ठाउँमा राखेपछि अन्य कुरालाई हेर्न र वर्षभरी स्वास्थ्यका लागि सुधार गर्न तपाईँलाई तयार बनाउने डाक्टर गिलको बुझाइ छ ।
पर्याप्त सुत्नुस्
यो स्वाभाविक लाग्न सक्छ तर स्वस्थ रहनका लागि वयस्कले दिनमा सातदेखि ९ घण्टा सुत्ने उद्देश्य राख्नुपर्छ ।
एक्सेटर विश्वविद्यालयका एकजना प्राध्यापक डाक्टर गेभिन बकिङघमका अनुसार राति ५ घण्टामात्रै सुत्दा पनि त्यसले हाम्रो निर्णय लिने र सोच्ने क्षमतामा असर गर्न सक्छ ।राम्रो निदाउनका लागि कफी चिया रातिको समयमा नपिउने र सुत्ने समयमा एकरूपता ल्याउन उनी सल्लाह दिन्छन् ।
तर बकिङघमले सुझाव दिँदा धेरै महत्व चाँही सुत्नुअघि विद्युतीय उपकरणहरू जस्तै मोबाइल फोन र ल्याप्टप नचलाउन सुझाएका छन् ।
यदि चलाइहाले पनि कम्तीमा त्यसको हानीकारक उज्यालोलाई कम गर्न भनेका छन् ।












