पहिलो पटक बर्मामा नेपाली फिल्म हेरेका बर्मेलीले भने– ‘पूर्खाको देश पुगे जस्तो लाग्यो’(भिडियो )
१६ पुस, काठमाडौं । तीन सय भन्दा धेरै नेपालीभाषी बर्मेलीले फिल्म हलमा पुगेर पहिलोपटक नेपाली भाषाको चलचित्र हेरेका छन् । यांगुनस्थित जेसिजीभी हलमा शुक्रबार राति नेपाली फिल्म ‘शत्रु गते’ प्रदर्शन गरिएको थियो ।चार सय सिट क्षमताको हलमा तीन सय २५ भन्दा बढीले फिल्म हेरेको बर्मामा ‘शत्रु गते’ प्रदर्शन गरेको त्रिशुल इभेन्टस् इन्टरनेशनलले जानकारी दिएको छ।एक लाख भन्दा धेरै नेपालीभाषी रहेको बर्मामा दुई दशक अगाडि ‘चाहना’ चलचित्र फिल्महलमा प्रदर्शन गरिएको थियो । शुक्रबार ‘शत्रु गते’ हेर्ने दर्शकमध्ये २० जनाभन्दा कमले मात्र ‘चाहना’ फिल्महलमा हेरेको सम्झे ।‘२२ वर्ष अगाडि नेपाली फिल्म ‘चाहना’ नेपिदअ नामको सिनेमा घरमा हेरिएको थियो । त्यसपछि बल्ल आज यो फिल्म हेर्न पाइयो’ नेपालीभाषी साहित्यकार लक्ष्मण न्यौपानेले फिल्म ‘शत्रु गते’ हेरेपछि प्रतिक्रिया दिए, ‘एकछिन भए पनि आफ्ना पुर्खाको देश नेपालै पुगे जस्तो भयो ।’यांगुन शहरको सबैभन्दा राम्रो मानिने जेसिजीभी सिनेमा घरमा ‘शत्रु गते’ हेर्ने नेपालीभाषीले आफूहरूलाई चाड आए जस्तै भएको प्रतिक्रिया दिए।
फिल्म बितरक त्रिशुल इभेन्टसका प्रमुख कार्यकारी अधिकृत विकास भट्टराईले यांगुन बाहिर नेपालीहरुको मूल बसोवास रहेको मान्डले, टाउन्जी, मेचिना, पिउँले र मोगोक शहरका सिनेमा हलमा पनि शत्रु गते पुस महिना भित्रै प्रदर्शन गरिने जानकारी दिए ।मह सञ्चारले निर्माण गरेको ‘शत्रु गते’ को बर्मा प्रदर्शनको उद्घाटन गर्दै म्यानमारका लागि नेपाली राजदूत भीम उदासले भने, ‘नेपाली संस्कृति, भाषा र कलालाई बर्मासँग जोड्न फिल्म राम्रो माध्यम हुने भएकाले दुताबास नेपाली चलचित्र प्रदर्शनमा सँधै सहयोगी बन्छ ।कार्यक्रममा राजदूत उदासले नेपालको प्राकृतिक सौन्दर्य फिल्म निर्माणको लागि उत्कृष्ट गन्तव्य हो भन्दै बर्माका चलचित्रकर्मीलाई नेपालमा चलचित्र छायाङ्कनका लागि निमन्त्रणा पनि गरे।
‘नेपाली फिल्महरु विदेशमा धेरै जसो सामुदायिक भवन र रेष्टुराँमा देखाइन्छ, त्यसले फिल्मको पुरा आनन्द दिदैंन’ त्रिशुल इभेन्ट्सका अध्यक्ष सशी कुमार खड्काले भने, ‘हामी विदेशका अत्याधुनिक हलमा नेपाली फिल्म देखाउने योजनामा छौं र त्यसको सुरुवात बर्माबाट गर्न पाउँदा आनन्द लागेको छ।’ बर्मापछि नेपालीभाषीको बाक्लो वस्ति भएको थाइलैन्डमा ‘शत्रु गते’ देखाउने योजनामा बितरकहरू रहेका छन् ।‘यहाँ नेपाली फिल्मलाई हामी गोर्खालीले मात्र होइन बर्मेलीले पनि हेर्ने वातावरण बनाउने योजनामा छु,’ बर्मामा शत्रु गते प्रदर्शनमा साझेदारी गरेको असम एसियाको महाप्रवन्धक सञ्जय पोख्रेलले भने ।
युवा उद्दमी पोख्रेलले नेपाली फिल्मको गुणस्तरको बर्मेली फिल्मको भन्दा राम्रो रहेको बताए ।
‘सरकारी कागजपत्र मिलाउन चार महिना लाग्यो, तर हामीले नेपाली फिल्म बर्मामा प्रदर्शनका बाटो खुलाएका छौं, अब अरु नेपाली फिल्म यहाँ प्रदर्शन गर्न सजिलो पर्छ’ त्रिशुल इभेन्ट्सका भट्टराई थपे, ‘फिल्म वितरणसँगै बर्मामा फिल्म छायांकनको पनि अनुमति लिएका छौं। बर्माका नेपालीलाई जोड्ने गरी फिल्म बनाउने योजना छ ।’
कस्तो छ बर्मामा नेपालीको अवस्था ?












